बिर्तामोड (प्रस) झापाका व्यवसायीले कोरोना कहरले व्यापार धराशायी बन्दै गएको बताएका छन् । शनिबार बिर्तामोड उद्योग वाणिज्य संघको समन्वयमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र व्यवसायी बीच भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीले कोरोना कहरका कारण व्यवसाय धराशायी बन्दै गएको बताएका हुन् ।


“अहिले व्यवसायी भाडासम्म तिर्न नसक्ने अवस्थामा छन्” बिर्तामोडका व्यवसायी राजु न्यौपानेले भने, “अब त सरकारसँग राखेको आशा पनि हराइसक्यो, प्रतिपक्षीले हाम्रो कुराको वकालत गरिदियोस् ।” बिर्तामोड कै होटल व्यवसायी देवि संग्रौलाले कोरोना कहरमा सबैभन्दा धेरै होटल व्यवसायी मारमा परेको जनाए । “यो अवस्थामा सरकारबाट कुनै पनि साहनुभूति पाइरहेका छैनौँ, सरकारको ध्यान ठाउँ-ठाउँमा निषेधाज्ञा गर्न तर्फ छ” संग्रौलाले प्रश्न गरे “लकडाउन कहिलेसम्म सरकार ?”

त्यस्तै धुलाबारीका व्यवसायी पुनितकुमार वंशलले सरकारले व्यवसायीमाथि कर मात्र थोपारिरहेको जिकिर गरे । स्थानीय सरकारले अव्यवहारिक हिसाबले निषेधाज्ञा जारी गरेर व्यवसायीलाई दुःख दिएको तर्क गरे । उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कोशवराज पाण्डेले वाणिज्य संघ मार्फत् व्यवसायीका समस्या सरकारमाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । “म झापाका व्यवसायीका समस्या सरकारमाझ पुर्‍याउँछु” पाण्डेले भने, “व्यवसायीका समस्या सरकारले सुन्नै पर्छ ।”

कांग्रेस नेता सिटौलाले व्यवसायीको गुनासो सुन्दै कोरोनाको समयमा सरकारले पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गर्न नसकेको तर्क गरे । “कोरोना कहरमा सरकारको भूमिका प्रभावकारी देखिएन” सिटौलाले भने, “कोरोनालाई कमजोर सोच्न हुँदैन, तर, अब हरेक नागरिकलाई कोरोनासँगै जीवनयापन गर्न पनि उत्प्रेरित गर्नुपर्छ ।” सिटौलाले व्यवसाय सञ्चालन गर्दा आवश्यक सुरक्षाका मापदण्ड पुरा गरेर सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । नेता सिटौलाले व्यवसायीका समस्या पार्टीमा छलफल गर्ने र सदनसम्म पुर्‍याउने प्रतिबद्धता जनाए । अन्तरक्रियामा झापाका ३० जना व्यवसायीले प्रश्न राखेको उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्