बनियानी, भदौ १५ । नेतृत्वको अपारदर्शिता, विभेदपूर्ण व्यवहार, बहुमतको दम्भ र सरकारी सम्पत्तिको दुरुपयोग भएको निचोडसहित झापा कचनकवल गाउँपालिकाका प्रतिपक्षी दल आन्दोलनमा उत्रिएका छन् ।

राप्रपाको बहुमत रहेको सो गाउँपालिकामा नेकपा र नेपाली कांग्रेस आन्दोलनमा उत्रिएका हुन् । ती दलले आइतबार बनियानी बजारमा विरोध प्रदर्शन गरे । गाउँपालिकाका चार जना वडाध्यक्षले चारबुँदे बिज्ञप्ति निकालेको दुई दिनपछि ती दलका समर्थकहरुले प्रदर्शन र कोणसभा गरेर नेतृत्व नसच्चिए आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गरेको, तिर्न नसक्ने गरी राजश्व बढाएको,गाउँपालिकाको गाडी अध्यक्ष अन्जार आलमले संघीय सांसद राजेन्द्र लिङ्देनलाई बोक्न र राप्रपाको पार्टी प्रयोग गरेको, गाउँपालिकाको बजेट पार्टी अध्यक्ष कमल थापाले पठाइ दिएजसरी एकलौटी गरेको भन्दै नेकपा र कांग्रेसका समर्थक आन्दोलनमा उत्रिएका हुन् । माउ पार्टी दललाई नेविसंघ र अनेरास्ववियुले साथ दिएका छन् ।
जायज मागको सम्बोधन नगरिएकोले सोमबारबाट २,४,६ र ७ नम्बर वडामा राजस्व नलिने निर्णय गरिएको आन्दोलनमा उत्रिएका वडाध्यक्षहरुले बताए ।
गाउँपालिका अध्यक्षले आलमले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको, करको दर बृद्धि नगर्ने राजश्व परामर्श समितिको निर्णयविपरीत तीन गुणासम्म कर बढाएको विरोध गर्दै चार वडाध्यक्ष तथा १० जना वडा सदस्यले निर्णय सच्याउन माग गर्दै भदौ ११ गते गाउँपालिकामा तालाबन्दी गरेका थिए । दुई घण्टा पनि नबित्दै अध्यक्ष आलमले राप्रपाका नेता तथा कार्यकर्ता प्रयोग गरी ताला फुटाएपछि कांग्रेस र नेकपा बिच्किएका हुन् ।
आइतबारको कोणसभालाई कचनकवल २ का वडाध्यक्ष मेखबहादुर भट्टराई, ४ का परमानन्दसिंह राजवंशी, ६ का कुलबहादुर कार्की , ७ का वडाध्यक्ष भरत राजवंशी, १ का वडा सदस्य उमाशंकर गणेश,नेविसंघ झापा सचिव नारायण नेपाल, अनेरास्ववियुका रोशन लामालगायतले सम्बोधन गर्दै अध्यक्ष आलमले गाउँपालिका राप्रपाको पार्टी कार्यालय जस्तो बनाएको, जनताका समस्यामा कुनै चासो नदेखाएको दाबी गरे ।
उनीहरूले वजेट सिलिङ यथावत हुनु पर्ने, राजश्व साविक अनुसार नै हुनु पर्ने, सडक मर्मत लगायत विकास निर्माणका काम वडामार्फत हुनु पर्ने, योजना तथा अनुदान वडा कार्यालयको सिफारिसमा हुनु पर्ने, भ्रष्टाचारको छानविन गरिनु पर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्