इलाम , भदौ २१ । स्थानीय आन्दोलित भएपछि इलाम माई नगरपालिकाको गौचरनको जग्गा धार्मिक संस्थालाई दान नदिइने भएको छ ।
माई नगरपालिकामा रहेको पाँच सय रोपनीभन्दा बढीको गौचरनको जग्गा एउटा धार्मिक संस्थालाई दान दिन खोजिएको थियो । माई नगरपालिका वडा नं ६ मा रहेको गौचरनको जग्गा किरात धर्मसँग सम्बन्धित माङ्सेबुङ गाउँपालिकामा रहेको आत्म पवित्र अर्गानिक कृषि फार्मलाई दान दिन योजना तुहिएको हो । माइ नगरपालिका कार्यालयको सहमतिमा सो गौचरनको जग्गा विश्व मानव समाजले भोग गर्न पाउने गरी गुरु भण्डारण समाजको आत्म पवित्र अर्गानिक कृषि फार्मलाई दान दिने खुलासा भएपछि स्थानीय आन्दोलित भएका थिए । वर्षौदेखि गौचरन र खोलाको रुपमा रहेको जग्गा अर्को गाउँपालिकाको धार्मिक संस्थालाई दान दिन नमिल्दै भन्दै माई ६ का २८४ जनाले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए । वर्षौदेखिको गौचरण कसैलाई दान नदिई गौचरनकै रुपमा रहन दिनु पर्छ भन्दै स्थानीय आन्दोलित भएपछि नगरपालिका त्यस निर्णयबाट पछि हटेको स्थानीय बुद्धराज लिम्बूले बताए । उनले सयौं स्थानीयको अगाडि नगर प्रमुख , उप प्रमुख लगायतले गौचरन नै रहन दिने आश्वासन दिएपनि भित्री रुपमा फेरि षडयन्त्र गर्न सक्ने भन्दै आफूहरु कुनै पनि हालतमा त्यस जग्गालाई दान दिनबाट रोक्ने चेतावनी दिए । त्यस विषयमा नगर प्रमुख दीपक कुमार थेबेले स्थानीयको भावनाविपरित नगरपालिका नजाने बताए । दान दिने सुनेर आन्दोलित भएका स्थानीयलाई आफूले चित्तबुझ्दो जवाफ दिएर संझाइबुझाइ पठाएको उनले जानकारी दिए । गौचरनको जग्गा धार्मिक संस्थालाई दान दिन खोजेको विषयमा प्रतिदिन दैनिकले गत साता समाचार प्रकाशित गरेको थियो ।