हल्दिबारी, भदौ २१ । एक महिनाको अन्तरालमा हल्दिबारी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् ।

दाहाल

गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहाल हल्दिबारी आउने भएका हुन् । अध्यक्ष र उपाध्यक्षबीचको टक्करका कारण काम गर्न नसक्ने भन्दै हल्दिबारीमा प्रशासकीय अधिकृतहरु आउन मानेका थिएनन् । दुवैजनाको घमासान टक्करका कारण टिक्न नसकी प्रमुख प्रशासकीय अधिकृत विजय इङनामले गत साउन २६ गते गाउँपालिका छोडेका थिए । त्यसयता गाउँपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको पद खाली छ । कार्यालयको कामकाज निमित्तले हेर्दै आएका छन् । हल्दिबारी गाउँपालिकाको सातौ गाउँसभाको असार १० गतेको पहिलो बैठकजस्तै साउन २६ गतेको दोस्रो बैठक समेत विवादित बनेको थियो । थप विवादित बनेको दोस्रो बैठककै दिन हल्दिबारीका प्रमुख प्रशासकीय अधिकृत इङनाम रवाना लिएर मोरङको मिक्लाजुङ गएका हुन् । उनको ठाउँमा श्रम मन्त्रालयबाट राजकुमारी खत्री आउने भएकी थिइन् । त्यहाँबाट सरुवा मिलाइसकेको अबस्थामा हल्दिबारीको विवाद थाहा पाएपछि उनी पनि आउन मानिनन् । हल्दिबारीका लागि सरुवा मिलाइसकेका भद्रपुर निवासी दाहालले बुधबारदेखि आफूले जिम्मेवारी सम्हाल्ने बताए ।
बिर्तामोड नगरपालिकामा भट्टराई आउने

बिर्तामोड नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा राजेन्द्र भट्टराई आउने भएका छन् । रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराई बिर्तामोड आउन लागेका हुन् । यद्यपि सामान्य प्रशासन मन्त्रालयले टुंगो गरिसकेको छैन । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउन रतुवामाई नगरपालिकाका भट्टराई र गौरादह नगरपालिकाका खेम ओझाले इच्छा ब्यक्त गरेका छन् । त्यसमध्ये सत्तारुढ पार्टीनिकट कर्मचारी संगठनका व्यक्ति भएकाले बलियो संभावना भट्टराईको रहेको जनाइएको छ । गौरादह नगरपालिकामा हाल प्रमुख प्रशासकीय अधिकृत रहेका ओझा जिल्ला विकास समिति झापाका पूर्व स्थानीय विकास अधिकारी हुन् । ‘ बिर्तामोडमा सरुवा हुने मन्त्रालयमा कुरा भइरहेको छ ’ रतुवामाईका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘ भोलिसम्ममा निर्णय हुन्छ होला ।’ उमेर हदका कारण पशुपति खतिवडाले भदौ १६ गते अनिवार्य अवकास पाएपछि बिर्तामोड नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत पद खाली छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्