बिर्तामोड , भदौ २१ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा चिकित्सक र स्वास्थ्यकर्मीसहित झापामा ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

बीएण्डसी हस्पिटलमा संक्रमित हुनेहरुमा एक चिकित्सक र ११ स्वास्थ्यकर्मी रहेका छन् । संक्रमितहरु ११ महिला र एक पुरुष रहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले आइसोलेसन र क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको जनाए । संक्रमित स्वास्थ्यकर्मीमध्ये दुई जना कन्काई ३ र अर्जुनधारा ९ का भएको बताइएको छ । त्यस्तै बिर्तामोड १० विराटपोखर घर भई प्रभु बैंक बिर्तामोडको व्यवस्थापक रहेका ब्यक्तिको परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकका व्यवस्थापक , उनकी श्रीमती र ९ वर्षकी छोरीलाई संक्रमण पुष्टि भएको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले बताए । त्यस्तै मेचीनगर नगरपालिकामा दुई सुरक्षाकर्मीसहित ५ जनामा संक्रमण देखिएको छ । मेचीनगर ६ र ७ का ती संक्रमित भारतबाट फर्केका थिए । त्यस्तै कमल गाउँपालिकामा ३ महिला र ८ पुरुष गरी ११ जना स्थानीयमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्