भद्रपुर, भदौ २२ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अपराधरहित झापा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न झापा आइपुगेका प्रजिअ तिमिल्सिनाले गैरकानुनी गतिविधि नियन्त्रण गरी जिल्लामा शान्ति सुव्यवस्थाका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
आफ्नै कार्यकक्षमा झापाली सञ्चारकर्मीहरूसित कुराकानी गर्दै प्रजिअ तिमिल्सिनाले चोरी, तस्करी, सीमा अपराध, नदी दोहन, कालावजारी, ठगीलगायत अबैध कार्य रोक्न सवैसित सहयोगको अपेक्षा समेत राखेका छन् । उनले विभिन्न बहानामा गरिने कानुनविपरितका कार्य रोकेर शान्ति सुव्यवस्थाका लागि झापा प्रशासन इमान्दार रहने वचन समेत दिएका छन् ।
वागमती प्रदेशको काभ्रेबाट झापा प्रशासनको नेतृत्व लिन आइपुगेका तिमिल्सिनाले झापाको सरकारी संयन्त्रलाई सूचनामैत्री बनाउन लागिपर्ने जानकारी दिए । उनले सरकारी कार्यालयहरूका राम्रा नराम्रा पक्षलाई तथ्य र प्रमाणका आधारमा उजागर गर्न अनुरोध गर्दै सञ्चारकर्मी निष्पक्ष हुनु पर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्