बिर्तामोड , भदौ २३ । पूर्व—पश्चिम रेलमार्गको काँकडभिट्टा—इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द भएसँगै रेल प्रभावित समन्वय समिति बिर्तामोडले खुशी व्यक्त गरेको छ । जग्गाधनीलाई पेलेर रेलको ठेक्का लगाएको भनी उनीहरुले निरन्तर आन्दोलन गर्दै आएका थिए ।

रेल प्रभावित समन्वय समितिले प्रक्रिया उल्लंघनको विरोध गर्दै सरकार, सम्बन्धित निकायलाई खबरदारी गर्ने सञ्चारमाध्यम, स्थानीय सरकार, जनप्रतिनिधि, प्रदेश –१ सरकारलगायत सम्बन्धित सरोकारवालालाई धन्यवाद दिएको छ । अब भने आफ्नो अधिकारका लागि एकजुट भएर अगाडि बढ्ने उनीहरुको भनाइ छ । पूर्व—पश्चिम रेलमार्गको काँकडभिट्टा—इनरुवा खण्ड निर्माणको विवादित सोमबार ठेक्का रद्द भएको हो । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो ।
जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् । रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो । जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो । जग्गा अधिग्रहण पनि नगरी हतारहतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार र प्रतिपक्ष दल भने यसमा मौन देखिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्