झापा, भदौ,२४। कोरोना संक्रमितको सँख्या बढ्दै गएपछि झापामा कोरोना बीमा गर्नेको सँख्या पनि ह्वात्तै बढेको छ ।

संक्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाहरुले धमाधम कोरोना बीमा गर्न थालेका छन् । झापामा संक्रमण तीब्ररुपमा बढ्दै गएपछि र कोरोना बीमा दावी गर्न थालेपछि केही इन्सुरेन्स कम्पनीहरुले कोरोना बीमा बन्द गरेका छन् । प्रिमियर इन्सुरेन्स कम्पनी बिर्तामोड शाखाले ब्यक्तिगत ८३ र संस्थागत ७७० जना गरी ८६३ जनाको कोरोना बीमा गरेको जनाएको छ । कोरोना बीमा गर्नेहरुको आउने क्रम जारी रहेको शाखा इन्चार्ज सन्तोष उप्रेतीले बताए । त्यसैगरी लुम्बिनी इन्सुरेन्स कम्पनीको बिर्तामोड शाखाले ४५० भन्दा बढीको कोरोना बीमा गरेको जनाएको छ । बिर्तामोडमा रहेका अन्य ननलाइफ इन्सुरेन्स कम्पनीहरुले पनि कोरोना बीमा गरेका छन् । संक्रमणको स्तरसँगै बीमा गर्नेको स्तर पनि बढिरेकाले पछिल्लो समय संक्रमणको क्षेत्र हेरेर मात्र आफूहरुले कोरोना बीमा गर्ने गरेको लुम्बिनी इन्सुरेन्स कम्पनी बिर्तामोडका प्रमुख चन्द्रप्रकाश बाँस्कोटाले बताए । आफूकहाँ एकजना वीमित कोरोना बीमा दावी गर्न आएको उनले जनाए । नेपाल बहुउद्येश्यीय सहकारी संस्थामा कार्यरत कर्मचारीलाई संक्रमण देखिएपछि उनले कोरोना बीमा दावी गरेको बाँस्कोटाले जानकारी दिए । त्यस्तै बीएण्डसी हस्पिटलमा कार्यरत कर्मचारीले पनि अर्को इन्सुरेन्स कम्पनीमा कोरोना बीमा दावी गरेको बताइएको छ । बीमालेख अनुसार आममानिसले रू. १ लाख र रू. ५० हजारको बिमांकमा यस्तो बीमा गर्न सक्छन् । रू. १ लाख बिमांकमा बीमा गर्दा प्रतिव्यक्ति रू. ६ सय बीमाशुल्क लाग्छ । सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याएमा रु ३०० मा बीमा गर्ने गरिएको प्रिमियर इन्सुरेन्स कम्पनी बिर्तामोडका इन्चार्ज उप्रेतीले बताए । कोरोना बीमाको आधा रकम स्थानीय तहले ब्यहोर्ने गरेका छन् । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति छुट दिइने व्यवस्था पनि बीमा समितिले गरेको छ । बीमा समितिका अनुसार कोरोना बीमा गर्नेको सँख्या साढे सात लाखबढी पुगेको छ ।
समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम संकलन भएको छ भने दाबीका लागि आउनेको सँख्या पनि दुई सय ६० भन्दा माथि लागेको छ । गत शुक्रवारसम्म १९७ बीमितले दाबी पेश गरेको बिमा कम्पनीको तथ्यांक छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५४ जनाले ५१ लाख रुपैयाँ बराबरको दाबी लिइसकेका छन् भने १४३ जनाको निवेदनमा भुक्तानी दिने प्रक्रिया शुरू भइसकेको छ । सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै प्रिमियर इन्सुरेन्स कम्पनीका उप्रेतीले यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश दिएको बताए । बैशाख ७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा सँख्या उल्लेख्य बढेको हो । नेपालमा सबैभन्दा बढी बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले कोरोना बीमा पोलिसीबाट ७ करोड ४० लाख बीमा शुल्क आर्जित गरेको जनाएको छ । त्यसपछि सिद्धार्थ इन्स्योरेन्सले ३ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने सगरमाथा इन्स्योरेन्सले २ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्