झापा , भदौ ३० । भारत सरकारले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्यबृद्धि भएको छ ।

हिजोबाट नेपालमा प्याजको मूल्य बढेको व्यापारीहरुले बताएका छन् । खुद्रा प्रतिकेजी ४० रुपैयाँमा पाउने प्याज अहिले व्यापारीहरुले ६० रुपैयाँसम्म बेच्न थालेका छन् । नेपालमा भारतबाट प्याज आयात हुने गरेको छ । भारत सरकारले हिजोदेखि सबै किसिमको प्याजको निर्यातमा रोक लगाएको हो ।
घरेल माग पुरा गर्न र प्याजको मूल्य कम गर्नका लागि भारत सरकारले सो निर्णय गरेको जनाइएको छ । हाल दिल्लीमा प्याजÞ ३५ देखि ४० रुपयाँमा बिक्री भइरहेको छ । काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा करोडौं रुपैयाँ मूल्य बराबरको प्याज नेपाल आयात भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७मा काँकरभिट्टा नाका हुँदै ३ अर्व ८८ करोड ३५ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरका १ लाख १० हजार ९ सय ४८ मेट्रिक टन खाद्यान्न र ताजा तरकारी नेपाल आयात भएको थियो । आयातित तरकारीमध्ये प्याज मात्र ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन रहेको कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले बताए । तर, यस अघिका दुई आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने प्याजको अझ धेरै आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा काँकरभिट्टा नाका भएर १३ करोड ५९ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको ४ हजार ५ सय ३१ मेट्रिक टन प्याज भारतबाट आयात भएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५मा १६ करोड २७ लाख २० हजार रुपैयाँ मूल्य बराबरको ५ हजार ४ सय ५४ मेट्रिक टन प्याज भारतबाट आयात भएको कार्यालय प्रमुख राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्