बिर्तामोड असोज, ३ । झापको कमल गाउँपालिका –४का सुमन श्रेष्ठको मोटरसाइकल गत भदौ २९ गते आफ्नै घरबाट हरायो । मोटरसाइकल हराएसँगै श्रेष्ठले ३० गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिए । प्रहरीले असोज २ गते नै उनको मोटरसाइकलसहित दमक बसपार्कबाट इलाम चुलाचुलीका कुमार राई, विवेक राई र उपेन्द्र राईलाई पक्राउ ग¥र्यो ।


उनीहरुलाई पक्राउ गरेसँगै सोधपुछ गर्दा थप २ वटा मोटरसाइकसहित इलाम चुलाचुलीकै सुरज राई र मिलन राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । उनीहरुलाई इलामकै चुलाचुली पेल्टिमारीबाट पक्राउ गरिएको पण्डितले जनाए । उक्त दुईबटा मोटरसाइकल कमल–५ का सुमन राई र कमल–५ कै बालकुमार राईको रहेको प्रहरीले जनाएको छ ।


गत आर्थिक वर्ष इलाका प्रहरी कार्यालय दमकमा ३५ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको इलाका प्रहरी कार्यालय दमकको तथ्यांकले देखाउँछ । विषेश गरी पार्किङ गरेर राखेको ठाउँबाट मोटरसाइकल हराउने गरेका छन् । मोटरसाइकल पार्किङ गरेपछि चालकले चाबी झिक्न बिर्सनु, हेन्डिल लक नगर्नु जस्ता कारणले चोरीहुने गरेको देखिन्छ । दमक तथा कमल आसपासमा हुने चोरीका मोटरसाइकल इलाम तथा पाँचथरका ग्रामिण भेगबाट पक्राउ पर्ने गरेको इप्रका दमकले जनाएको छ ।


गत वर्ष परेको उजुरीको आधारमा खोजतलास गर्दा २२ वटा मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । त्यसमा सवारी धनी नखुलेका १४ वटा मोटरसाइकल इप्रका दमकमा छन् । ५ वटा मोटरसाइक बेबाारीसे अवस्थामा भेटेर सवारीधनीलाई बुझाएको र ३ वटा मोटरसाइक चोरी गर्ने व्यक्तिसहित पक्राउ गरेर मुद्दा चलाइएको डिएसपी पण्डितले बताए । यस आर्थिक वर्षमा इप्रका दमकमा ७ वटा मोटरसाइक चोरी भएको उजुरी परेको प्रहरीले जनाएको छ । पण्डितका अनुसार पहिलेको तुलनामा चोरीका घटना केही कम भएको छ । चोरी नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको उनी बताउँछन् । चौविसै घण्टा प्रहरी कार्यक्षेत्रमा हुने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्