झापा, असोज ६ । एकजना कैदीसहित मंगलबार झापामा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ९ जना महिला र ११ जना पुरुष रहेका छन् ।

जिल्ला कारागार चन्द्रगढीका २७ वर्षिय पुरुष कैदीलाई संक्रमण भएको हो ।
त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका १५ जना रहेका छन् । तीमध्ये एकै घरका ४ जना रहेका छन् । दमक नगरपालिका वडा नं ५ का एकै परिवारका ५ जनामा संक्रमण देखिएको हो । संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक वडा नं ४ , ७ र ८का ९ जना स्थानीयमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी दमक अस्पतालका दुईजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक पुरुष र एक महिला स्वास्थ्यकर्मी रहेका छन् । शुक्रबार परीक्षण गरिएका १४० मध्ये १५ जनामा पोजेटिभ देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।
त्यस्तै मेचीनगर नगरपालिका वडा न ३ का २ महिला, १ पुरुष गरी ३ जना र कमल गाउँपालिका वडा नं. ७ की एक महिलामा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । जसमा मेचीनगरका तीन जनामध्ये एक जना भारतबाट आएका र अन्य सबै स्थानीय रहेका छन् । त्यसमध्ये एकजना इलाम ठेगाना भएको चम्लागाईले बताए ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ८१३ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ७२२ पुगेको छ । हालसम्म झापामा सक्रिय संक्रमितको संख्या ९९ छ भने कोरोनाबाट झापाका ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्