झापा , असोज ७ । लगातार परिरहेको मुसलधारे वर्षाबाट आएको बाढीले झापामा क्षति पु¥याएको छ ।

अविरल वर्षाका कारण बिरीङ नदीमा आएको बाढीले बाह्रदशी गाउँपालिका वडा न. ७ तुलसीबारीका ६ परिवार बिस्थापित बनेका छन् । बिरीङको बाढीले कटान गरिरहेको र घर भेट्ने संभावना रहेपछि जोखिममा रहेका ६ घरका परिवारलाई सुरक्षित स्थान सारिएको हो । बिस्थापित हुनेहरुमा तुलसी चौधरी , परदेशी चौधरी , सकालु चौधरी , मंगलु चौधरी , गोपाल गौतम र षडानन्द गौतमको परिवार रहेका छन् । ती ६ परिवारका २२ जना विस्थापित बनेको वडाध्यक्ष मित्र भट्टराईले बताए । विस्थापितमध्ये महिला र बालबालिकालाई छिमेकीकोमा र पुरुषहरुलाई सामान हेरचाह गर्न घर भएकै स्थानमा राखिएको उनले बताए । जनताको तटबन्धले बनाइदिएको बाँध भत्किएपछि यस वर्ष ती परिवार दोस्रो पटक विस्थापित बनेका हुन् । करिव तीन साताअघि बाढी आउँदा उनीहरु केही दिनका लागि विस्थापित बनेका थिए । यसपटक भने उनीहरु पूर्णरुपमा विस्थापित बनेका छन् । नदीले कटान गर्न लागेको ६ घरमध्ये ४ वटा भत्काइसकेको र दुईवटा भत्काउन बाँकी रहेको वडाध्यक्ष भट्टराईले बताए ।
त्यस्तै हल्दिबारी गाउँपालिकामा एक घर विस्थापित बनेको छ । हल्दिबारी ३ देवीवस्तीस्थित देउनीया खोलामा आएको बाढीले स्थानीय दिलबहादुर राईको परिवार विस्थापित बनेको हो । खोलाले कटान गर्न थालेपछि सशस्त्र प्रहरी , प्रहरी चौकी जलथलको प्रहरी टोली र स्थानीयको सहयोगमा राईको घर र घरभित्र रहेका सरसामान सुरक्षित स्थानमा सारिएको छ । देउनीया खोलाको बाढीले राईको १४ कठ्ठा जग्गा सबै कटान गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए । वर्षा नरोकिए आसपासका ४ घर समेत जोखिममा रहेको गिरीले जानकारी दिए । त्यस्तै बिरीङ नदीकै बाढीले कनकाई नगरपालिका वडा नं ८ स्थित त्रिवेणी टोलका ६ घर डुबानमा परेका छन् । त्यस्तै कचनकवल गाउँपालिका ६ स्थित नेपाल भारत सीमामा रहेको ११२ नं पिलर मेची नदीले कटान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जनाएका छन् । त्यस्तै अर्जुनधारा नगरपालिका वडा नं २ मा हावासहित आएको पानीले रुख ढल्दा एक घर क्षतिग्रस्त भएको छ । गाँजाबारी बस्तीमा जितबहादुर विसंखेको घर सिमलको रुख ढलेर पुरै क्षतिग्रसत भएको हो । घरले किचेर एउटा बाछीलाई किचेर मारेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । त्यस्तै कनकाई नगरपालिका वडा नं ८ मा बिरीङ नदीले बिरीङ पुल उत्तरको बाँध कटान गरी सुकुम्बासी टोलको २० परिवार उच्च जोखिममा रहेको, गौरीगञ्ज गाउँपालिका वडा नं २ को भाकुरमारीमा सयभन्दा बढी परिवारको बसोबास रहेको बस्ती नजिक धान खेती कटान भईरहको रेडक्रसले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्