बिर्तामोड, असोज ७ । कृषि मन्त्री घनश्याम भुसालले कृषकको उपस्थिति बिना नै झापामा लागू हुनेगरी यस वर्षको लागि धानको समर्थन मूल्य तोकेका छन् ।

जिल्ला सहकारी संघ झापाले आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले धानको समर्थन मूल्य तोकेका हुन् । सरकारले असार पहिलो साता नै मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । मन्त्रिपरिषद् बैठकले भुसालकै प्रस्तावमा मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो । सोही मूल्यलाई मन्त्री भुसालले झापामा सहकारीले आयोजना गरेको कार्यक्रममा समर्थन मूल्य तोक्दै सहकारीलाई धान खरिद गर्न सुझाव दिए । सहकारी संघले आयोजना गरेको कार्यक्रममा किसानको सहभागिता थिएन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपरजोन लगायतका नेतृत्वदायी सरोकारवाला संस्थाको उपस्थिति बिना नै सहकारीलाई धान खरिद गर्न मन्त्री भुसालले अनुमति दिएका हुन् ।
धान सुपरजोन झापाका अध्यक्ष विश्वनाथ बरालले किसानसँग छलफल नगरी धानको मूल्य तोकिएकोमा असन्तुष्टि व्यक्त गरे । “लागत मूल्यको आधारमा मूल्य तोक्नु पर्ने हो, अहिले प्रतिक्विन्टल ३ हजार ५ सय मूल्य राख्दा मात्र किसानको लागत उठ्छ” बरालले भने, “मन्त्रीज्यू कसैको प्रभावमा पो पर्नुभयो कि !” बरालले मन्त्रीसँगै प्रश्न गर्दै भने, “म धान सुपरजोनको अध्यक्ष, हाम्रो प्रतिनिधित्व बिना नै तपाईँले के आधारले समर्थन मूल्य तोक्नु भयो ?” मन्त्री भुसालले कृषि प्राविधिकको सहयोगमा समर्थन मूल्य तोकिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेका थिए । मानसरोवर कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका बरालले अर्गानिक धान उत्पादनमा लागत बढी लाग्ने जनाउँदै मन्त्रीले किसानमारा समर्थन मूल्य तोकेको आरोप लगाए । सहकारीले ३ सय विगाहमा अर्गानिक धान उत्पादन गर्दै आएको छ । झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले जिल्लाकै कृषि सहकारीले किसानको धान खरिद गर्ने र कृषि सहकारीलाई धान खरिद गर्न अन्य सहकारीले सहयोग गर्ने निर्णय गरिएको बताए । उनले सरकारले तोकेको समर्थन मूल्यमा सहकारीले धान खरिद गर्ने बताए ।
सोमबार पूर्व आएका मन्त्री भुसाल मंगलबार इलाममा चियाको ट्रेडमार्क प्रमाणपत्र प्रदान कार्यक्रममा व्यस्त रहे । बुधबार झापाका कृषि फर्म, सहकारीको कार्यक्रममा सहभागी भए ।
मन्त्री भुसालले चन्द्रडाँगी कृषि फार्म शिवसताक्षीको अनुगमन गर्दै फार्म सञ्चालनका लागि स्थानीय सरकारलाई हस्तान्तरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । ३ वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले फार्म अनुगमन गर्दासमेत स्थानीय तह मातहत ल्याउन नगरपालिकाले अवधारणापत्र हस्तान्तरण गरेको स्मरण गर्दै नगरप्रमुख चन्द्रकुमार शेर्माले भने, “राष्ट्रपतिबाट पनि आश्वासन त पाएका थियौँ कार्यान्वयन भएन ।” नगरले फार्मलाई कृषि विज्ञान अनुसन्धानको रुपमा विकास गर्ने उनले जनाए । चन्द्रडाँगी कृषि फार्म देशकै प्रतिष्ठित कृषि फार्म हो । व्यवस्थापन र कर्मचारी अभावमा फार्मले सोचेअनुरुप काम गर्न नसकेको नगरप्रमुख शेर्मा बताउँछन् । मन्त्री भुसालले १५ दिन भित्रमा फार्म सञ्चालनको अवधारण बनाउने प्रतिबद्धता जनाएको नगरप्रमुख शेर्माले बताए । उक्त फार्म ८४ विगाहमा फैलिएको छ । मन्त्री भुसालले झापाको गौरादह नगरपालिकामा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्था मातहत रहेको नमूना एकीकृत खेतीको अनुगमनसमेत गरेका छन् । भुसालले कृषि फार्मको प्रवद्र्धनका लागि स्थानीय तहले सहयोग गर्ने बताए ।
वौद्धिक, अध्ययनशील र जनताका समस्या बुझ्ने भनेर चिनिएका मन्त्री भुसालले यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराउन सकेनन् । सरकारले खरिद गर्ने भनिएको मल अहिलेसम्म किसानलाई उपलब्ध नगराएकोमा उनी आलोचित छन् । कतिपय अगुवा धान पाकेर रातै भएको छ । मल अभावमा यस वर्ष धान उत्पादन नै कम हुने बताउँदै कनकाई नगरपालिकाका कृषक मेदनी प्रसाईँले भने, लगातारको वर्षाले धानमा ढुसी पर्न थालेकाले पनि उत्पादन झन घट्छ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्