झापा असोज, १५ । जेष्ठ नागरिक दिवसको अवसर पारेर मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाएको छ । केन्द्रले झापाको बिर्तामोड नगरपालिका –४मा अवस्थित परोपकार तथा अनुसन्धान केन्द्र द्वारा सञ्चालित वृद्धाश्रमका रहेका ३२ जना वृद्धवृद्धालाई खाना खुवाएको हो ।

एक कार्यक्रमको आयोजना गर्दै केन्द्रकी झापा अध्यक्ष निकिता खत्री प्रसाईँले केन्द्र महिला, बालबालिका तथा वृद्धवृद्धा विरुद्ध हुने शोषणको अन्त्यका लागि सक्रिय संस्था रहेको बताइन् । असाहय बालबालिका, घरेलु हिंसामा परेका महिला, पारिवारीक अपहेलनाको कारण कष्टकर जीवनयापन गर्न बाध्य जेष्ठ नागरिकको क्षेत्रमा केन्द्रले काम गर्दै आएको छ ।

परोपकार वृद्धाश्रमका अध्यक्ष विक्रम मादेनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बिर्तामोड–४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले केन्द्रसँग हातेमालो गर्नका लागि स्थानीय सरकार तत्पर रहेको बताए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका संग्रौलाले तन, मन र बचनले आफ्नो वडाले केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।


संस्थाकी उपाध्यक्ष सुमी विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पुनम ओडारीले गरेकी थिइन् । कार्यक्रममा केन्द्रका सल्लाकार दिपनारायण केसीकोसमेत सहभागिता रहेको थियो । २०७२ सालमा चितवनको भरतपुर नगरपालिकामा स्थापना भएको उक्त संस्था गत महिनादेखि झापाको बिर्तामोडमा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्