मेचीनगर नगरपालिका वडा नं ५ मा पाँचैजना जनप्रतिनिधि युवा र जोशिला छन् । जसको नेतृत्व वडाध्यक्ष योगेन्द्र थापामगरले गरिरहेका छन् । ४७ वर्षिय मगरसँग राम्रो टीमवर्क गर्ने क्षमता भएकै कारण ग्रामीण क्षेत्रको त्यस दुर्गम वडाले सबैको समन्वय र सहकार्यमा विकास निर्माणमा गति लिन सकेको हो । युवा जनप्रतिनिधि मगरले २०४७ सालमा विद्यार्थीकालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए ।त्यसपछि उनले तरुण दलको जिम्मेवारी पाए । तरण दलको वडा सभापति भएर १५ वर्ष अनुभव लिइसकेपछि उनी नेपाली काँग्रेसको वडा सचिव भए । एक कार्यकाल वडा सचिव चलाएका मगर अहिले पार्टीको वडा सभापति रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी ६५ मतको अन्तरले निर्वाचित हुँदै पहिलोपटक जनप्रतिनिधि भएका हुन् । तिनै विकासप्रेमी वडाध्यक्ष मगरसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सार –

के के चुनावी एजेण्डा लिएर निर्वाचन जित्नुभयो ? अहिले त्यसको कार्यान्वयन गर्दै हुनुहुन्छ कि बिर्सिनु भयो ?
मेचीनगर नगरपालिकाको साविक वडा नं ८ र हालको वडा नं ५ विकट क्षेत्र हो । विकास निर्माणका हिसाबले पछि परेको यस वडामा बाटोघाटो , पुलपुलेसा , कल्भर्ट , विद्यालयजस्ता आबश्यकीय भौतिक पूर्वाधार थिएनन् । त्यसलाई पूरा गर्दै गएका छांै । वडाभित्र कक्षा १२ सम्म पठनपाठन गराउने मेरो एजेण्डा थियो, म त्यसमा कटिबद्ध छु । वालकल्याण माविमा कक्षा १२ सम्म पठनपाठन गराउने हाम्रो योजना छ । हाम्रो टीम विजयी भएपछि वडामा हामीले ठूला २ वटा पुल, १४ वटा पुल कल्भर्ट निर्माण गरिसकेका छौं । त्यस्तै सुरेन्द्र मार्गको पुरानो पुल भत्काएर नयाँ पुल बनाउने तयारीमा छौं । विगतमा वडाबासीहरुलाई हिड्नै गाह्रो हुन्थ्यो , अहिले बाटोघाटो र पुल कल्भर्ट बनेपछि आवतजावतमा सहज भएको छ ।
– तपाईका एजेण्डा अरु पनि थिए नि ?
हो , मैले भौतिक पूर्वाधारसँगै वडाबासीहरुलाई आत्मनिर्भर बनाउने एजेण्डा पनि उठाएको थिएँ । पहिला भौतिक पूर्वाधारतर्फ जोड दिने , अनि आयआर्जनतर्फ अग्रसर हुने हाम्रो प्लान हो । दुई वर्षसम्म पूर्वाधार निर्माण गरेर सामान्य हिडडुलको वातावरण निर्माण गरिसकेका छौं । अब हामी देशको मुख्य पेशा कृषिलाई प्राथमिकता दिएर किसानहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्दैछौं । चिया किसानहरुको समस्यालाई ध्यान दिएका छौं । त्यस्तै रासायनिक मलको प्रयोगले किसानहरुको उत्पादन घट्दै गएकाले त्यसतर्फ के गर्न सकिन्छ भनेर लागिरहेका छौं । माटोको उर्वराशक्ति हराउन नदिन किसानलाई कृषि चुन बाँडने , धानको बीउ वितरण गर्ने , बाख्रापालनको लागि गोठ सुधारजस्ता कार्यक्रम गर्ने योजना बनाएका छौं ।
–तपाईको वडामा रहेका निम्न वर्गीय जनताको जीवनस्तर परिवर्तन गर्ने योजना के छ ?
वडाभित्रका बाटोघाटो , विजुली , खानेपानी, पुल कल्भर्ट मुख्य–मुख्य ठाउँमा सम्पन्न गरिसकेका छौं । वडाबासीहरुको व्यक्तिगत जीवनमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम पनि संचालन गर्दैछौं । बढी निर्भर रहेको कृषि पेशालाई व्यावसायिकरण गर्दै खासगरी किसानहरुको जीवनस्तर उकास्न जरुरी भएको छ । म पनि किसान नै हुँ । गाईपालन गरिरहेको छु । कृषि पेशालाई व्यावसायिक बनाएर किसानहरुलाई आत्मनिर्भर बनाउनेतर्फ पहल गरिरहेका छौं । त्यस्तै महिलाहरुलाई सिलाइकटाइ जस्ता सीपमूलक तालिम दिएका छौं । सिटिइभिटीसँग सहकार्य गरेर विभिन्न तालिम संचालन गरेका छौं । युवाहरुलाई स्वरोजगार बनाउन विद्युत जडान, ड्राइभिङ ,लोकसेवा पूर्व तयारी कक्षाजस्ता तालिम गरेका छौं ।
– नगर , प्रदेश र संघबाट वडाले पाएकोे वजेटप्रति सन्तुष्ट हुनुहुन्छ ?
नगरपालिकाले नगर गौरवको आयोजनाहरु संचालन गरेको छ । त्यस्तै घना जनआवादी भएको शहरी क्षेत्रमा बढी बजेट हाल्नु स्वाभाविक नै हो । बजेटको बाँडफाडलाई हेर्दा नगरको बजेट सन्तुलित नै जस्तो लाग्छ । तर, प्रदेशको बजेट मेचीनगरको ५ नं वडामा एउटै पनि परेको छैन । राजनीतिक लिगेसी नभएर होला प्रदेश सांसदहरुले यस वडामा एक पैसा पनि हाल्नु भएको छैन । मेले कति पहल गरेँ । तर, सुनुवाई भएन ।
– झापा जिल्लामा सबैभन्दा धेरै जातजाति भएको ठाउँ मेचीनगर हो । तपाईको वडामा पनि धेरै जातजाति छन् । पछि परेका जाति समुदायको उत्थानका लागि के गर्नु भएको छ ?
यस वडामा पछि परेका आदिबासी जनजाति , लापोन्मूखहरुको बसोबास छ । उनीहरुको लागि लक्षित कार्यक्रम भनेर भिन्नै बजेटको व्यवस्था गरेका छौं । तर, गत वर्ष कोभिड १९ का कारण त्यस शिर्षकको रकम खर्च गर्न सकेनौं ।
– विश्वव्यापी कोरोना महामारीबाट बच्न र बचाउँन के कस्ता कार्यक्रम संचालन गर्नु भएको छ ?
विश्वभरि फैलिएको कोभिड १९ को महामारीबाट हामी पनि अछुतो रहन सकेका छैनौं । त्यसबाट जोगिन सबैभन्दा महत्वपूर्ण सचेतना नै हो । हामीले कोरोना महामारीबाट जोगिन सचेतना फैलाउने काम गरेका छांै । नेपालमा महामारी नफैलिदै ७२०० वटा माक्स वितरण गरेका थियौं । कोरोना संक्रमितहरुलाई राख्न विद्यालयमा क्वारेन्टाइन संचालन गरेका थियौं । हालसम्म यस वडामा १९ जनामा संक्रमण पुष्टि भएको छ भने एकजना संक्रमित बृद्धाको मृत्यु भएको छ ।
– यस वडामा समस्यासँगै के के संभावना देख्नु भएको छ ?
मेचीनगरको ५ नं वडामा समस्यासँगै संभावना पनि प्रचुर रहेको छ । हामीले काम गर्ने ठाउँ प्रशस्त छन् । एउटा सामुदायिक भवनको खाँचो थियो , जुन निर्माण भइरहेको छ । वडामा कालोपत्रे पिच छैन । वडाका बाटाघाटाहरु कालोपत्रे गर्ने योजना छ । सुरेन्द्र मार्गलाई पहिलो प्राथमिकतामा राखेका छौं । वडा कार्यालय नभएर अहिले भाडामा बस्दै आएका छौं । आफ्नै वडा कार्यालय भवन बनाउने , कृषि, शिक्षा , स्वास्थ्य , विकास निर्माण , रोजगारको क्षेत्रमा काम गर्ने संभावनाहरु निकै नै रहेका छन् । जसको लागि हामीले विभिन्न योजनाहरु निर्माण गरेका छौं ।
–अन्त्यमा, तपाईले आफ्नो वडा र वडाबासीहरुको भविष्य कस्तो परिकल्पना गर्नु भएको छ ?
धेरै कुरा सोचेको छु । सोचेको सबै कुरा पूरा गर्न नसकिँदो रहेछ । कोरोना महामारीका कारण जनताको जीवनस्तरमा ठूलो असर पुगेको छ । आर्थिक पाटो खस्किएको छ । गत वर्षको तुलनामा वडाको बजेट घटेको छ । त्यसका बावजुद हामीले जनताको अपेक्षालाई पूरा गर्नु पर्ने बाध्यता छ । पूर्वाधारको कामसँगै जनताको जीवनशैलीलाई पनि बदल्नु छ । वडा न. ५ लाई शान्त , सुन्दर , सभ्य अनि समृद्ध वडा बनाउने मैले परिकल्पना गरेको छु । यसलाई पूरा गर्न सबैले साथ दिनु हुन्छ भन्ने बिश्वास लिएको छु ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्