झापा ,असोज १३ । अबैध रुपमा रुख काट्ने सुखानी शहीद स्मृति प्रतिष्ठान अर्जुनधारा ९ ले अन्तिम दिन वन कार्यालयलाई स्पष्टीकरणको जवाफ पठाएको छ ।

असोज ६ गते पठाएको पहिलो पत्रको जवाफ प्रतिष्ठानले नदिएपछि कनकाई सव–डिभिजन कार्यालय सुरुङ्गाले कडा कानुनी कार्वाही गर्ने चेतावनीसहितको अर्को तागेता पत्र पठाएको थियो । पाँचदिने म्यादसहितको तागेता पत्रको अन्तिम दिन आइतबार प्रतिष्ठानले जवाफ पठाएको हो । जवाफमा प्रतिष्ठानले अबैध रुपमा रख काटेकोमा गल्ती स्वीकार गर्नुको सट्टा स्वाभाविक र नियमित प्रक्रियाको रुपमा रुख कटान गरेको प्रतिक्रिया दिएको छ । वन कार्यालयलाई नसोधीकन र कुनै पनि अनुमति नलिइकन अबैध रुपमा रुख काटेको प्रतिष्ठानले यसअघि पनि त्यस किसिमको रुख कटान गर्ने गरिएको पत्रमा उल्लेख गरेको छ । धरापमा परेका रुखहरुबाट कछुवालाई असर पुग्ने देखेर प्रतिष्ठानका कर्मचारीहरुले तीनवटा सिसौका रुख काटेर घाटगद्धी गरेको प्रतिष्ठानका अध्यक्ष टंक बरालले पठाएको जवाफमा उल्लेख छ । त्यस्तै नजिकै रहेको नमूना सामुदायिक वनले पनि सोमबार स्पष्टीकरणको जवाफ पठाएको छ । नमुना सामुदायिक वनमा वन फडानी भइरहेको भन्ने विषयको जवाफमा त्यस वनका पदाधिकारीले बाहिर हल्ला आएजस्तो वनभित्र फडानी नभएको भन्दै छिमेकी सुखानी शहीद स्मृति प्रतिष्ठानमा सिसौका रुखहरु काटिएको भन्ने कुरा बुझिन आएको भन्दै सफाइ पेस गरेका छन् । वन कार्यालयले पठाएको दोस्रो पत्रको अन्तिम दिन प्रतिष्ठानले जवाफ पठाएको कनकाई सव–डिभिजन कार्यालयका प्रमुख नथुनी गुह्यारी यादवले बताए । उनले कानुन अनुसार थप प्रक्रिया अगाडि बढाइने जानकारी दिए । सुखानी शहीद स्मृति प्रतिष्ठानको पार्कमा रहेका तीनवटा सिसौका रुखहरु असोज ५ गते गैरकानुनी रुपमा काटिएका थिए । विना अनुमति गैरकानुनी ढंगले रुख काटिएको घटनाका विषयमा वन कार्यालयले सुखानी शहीद स्मृति प्रतिष्ठानमाथि कार्वाही अगाडि बढाएको हो । डिभिजन वन कार्यालय भद्रपुरले कनकाई सव–डिभिजन कार्यालय सुरुङ्गाका प्रमुख यादवलाई जाँचबुझ गर्न आदेश दिएको छ । काटिएका तीनवटा रुखमध्ये एउटालाई गोलिया पारेर प्रतिष्ठानमा लगेको र अरु दुईवटा काटेर फिल्डमै राखेको अबस्थामा फेला परेको थियो । त्यस घटनाका बारेमा वन कार्यालयले स्पष्टीकरण दिन प्रतिष्ठानलाई दुई पटक पत्र पठाएको थियो ।
पहिलो पत्रमा सव–डिभिजन कार्यालयले वन कार्यालयको अनुमति नलिई के कुन प्रक्रियाले को कसले उक्त रुख काटेको हो भनेर यथाशिघ्र खुलाएर पठाउन प्रतिष्ठानलाई पत्र पठाएको थियो । तर, त्यस स्पष्टीकरण पत्रको जवाफ प्रतिष्ठानले एक सातासम्म नपठाएर अटेर गरेपछि सव–डिभिजन कार्यालयले असोज १२ गते अर्को पत्र काटेको थियो । पछिल्लो पत्रमा पहिलो पत्रलाई बेवास्ता गर्नुको कारणसहित तीनवटा सिसौंका रुखहरु के कुन व्यक्तिले काटेको र संचारमाध्यममा नमूना वन सामुदायिक वनमा अबैधरुपमा भइरहेको वन फडानीका सम्बन्धमा प्रकाशित समाचारका विषयमा वास्तविकतासहित धारणा पेस गर्न आदेश दिइएको थियो । अबैध रुख कटानको घटनामा प्रदेश सांसद वृख प्रधानको नाम मुछिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्