बिर्तामोड , असोज २६ । बिर्तामोड नगरपालिका वडा नं ६ मा रहेको भद्रपुर माविको जग्गामाथिको अतिक्रमण र आफूखुशी किनबेचका वारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएको छ ।

अतिक्रमित जग्गा र त्यसमा बनाइएका घर

साढे १७ विगाह जग्गाको धनीपूर्जा भद्रपुर माविको नाममा भएपनि विचौलियाहरुले अतिक्रमण गरी आफूखुशी जग्गा किनबेच गर्दै आएका छन् । भद्रपुर माविको जग्गा हिनामिनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बताउँदै क्षेत्रीय कार्यालय इटहरीका सूचना अधिकारी पुरुषोत्तम ढकालले त्यसउपर छानविन अघि बढाइएको जानकारी दिए । उनले परेको उजुरीमाथि अनुसन्धान जारी रहेको बताउँदै छानविन पूरा गर्न केही समय लाग्ने जनाए । सरकारी जग्गामा घर बनाएको र बनाउन दिएर लाखौ. रकम असुलेको विषयमा अख्तियारले छानविन थालेको हो । आयोगले विद्यालयका लेखापाल जयदेव घोषमाथि पनि छानविन अगाडि बढाएको छ । कुत भनेर एक वर्षअघि उठाएको १ लाख २४ हजार ५८३ रुपैयाँ फिर्ता गरिएको छ । विद्यालयलाई कुत दिनका लागि उठाएको रकम मुद्धाको फैसला आउन ढिला भएको कारण सम्बन्धित ब्यक्तिलाई नै फिर्ता गरिएको जनाइएको छ ।सरकारी जग्गा हिनामिनाका विषयमा केही जागरुक स्थानीयहरुले २०७६ मंसिर २८ गते गते अख्तियारमा उजुरी दिएका थिए । त्यस उजुरीउपर सुनुवाई गर्दै अख्तियारले विद्यालयको सरकारी जग्गामा के भएको हो भनी जवाफ पठाउन २०७६ पुष १७ गते भद्रपुर माविलाई पत्र पठाएको थियो । त्यस पत्रको जवाफ विद्यालयले २०७६ माघ २१ गते फर्काएको थियो । आबश्यक कागजातसहितको विद्यालयको पत्रमा कित्ता नं ९१ को जग्गामा मोहीको लगत रहेको तर सम्बन्धित मोहीले जोतभोग गर्न छाडेको निकै भएको , जग्गामा बस्नेहरुले वर्षौदेखि ठेक्का नतिरेको , मोहीको लगतमा नदेखिएका व्यक्तिहरुले गैरकानुनी र मनोमानी ढंगबाट आर्थिक चलखेलसमेत गरी बाटो खन्न र घर बनाउन दिएको भन्ने उल्लेख छ ।

अख्तियारको पत्रमा विद्यालयको जवाफ

विद्यालयको जग्गा किनेर प्लटिङ
बिर्तामोड ६ का फणिन्द्र पन्धाकले विद्यालयको जग्गा किनेर प्लटिङ गरेका छन् । उनले २०६८ सालतिर १० लाख रुपैयाँमा १७ कठ्ठा जग्गा किनेका थिए । विद्यालयको नाममा धनीपूर्जा भएको सो जग्गा अनुशा गिरीबाट आफूले लिएको उनले बताए । ‘बैंकमा पैसा जम्मा गर्न लगाए’ उनले भने,‘ कागज पनि गरिदिएनन् ।’ पन्धाकले जग्गा लिएपछि प्लटिङ गरेका छन् । त्यस जग्गामा १५ भन्दा बढी परिवारले किनेर घर बनाएका छन् । भद्रपुर माविको नाममा रहेको जग्गा सम्बन्धित विद्यालयलाई नसोधी धेरैले धेरै पटक किनबेच गरिसकेका छन् ।भर्खरै एकजनाले ५ लाख रुपैयाँ कठ्ठा विद्यालयको जग्गा किनेको एक स्थानीयले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्