बिर्तामोड असोज, २९ । झापा कनकाई नगरपालिका– ३ एकान्तटोलका अभिषेक चौधरीको हत्यामा संलग्नलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सार्वजनिक गरेको छ । बुधबार विहान कनपा –३ एकान्त टोल नजिकै सुरुङगा खोलाको बाँस घारीमा फेला मृत फेला परेका २२ वर्षीय चौधरीको हत्यामा संलग्नलाई प्रहरीले बुधबार बेलुका नै पक्राउ गरेको हो ।


आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा संलग्न कनकाई नगरपालिका – ७ का टल्के भनिने रविन राजवंशीलाई सार्वजनिक गरेको हो । बञ्चरोले हानेर चौधरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राजवंशीले चौधरीको हत्या आफैँले गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । हत्यामा संलग्नले घटनास्थलमा छोडेका प्रमाणका आधारमा हामीले छोटो समयमा नै हत्यारालाई पक्राउ गर्न सफल भयौँ” प्रमुख कोइरालाले भने, “हत्याको कारण दुव्र्यसनी देखिएको छ ।”

कसरी भएको थियो हत्या
मृतक चौधरी मंगलबार साँझ घरबाट निस्केका थिए । त्यसपछि चौधरी र राजवंशीको भेट भएको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए । गाँजा खाने विषयमा भएको विवादको कारण चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । “चौधरी र राजवंशी भेट भएपछि चौधरीले १ सय रुपैयाँ दिएर राजवंशीलाई गाँजा लिन पठाएको र गाँजा ल्याएपछि चौधरीले खान नदिने भनेपछि सामान्य विवाद भएको अनुसन्धानबाट खुलेको छ” डिएसपी रिजालले भने, “विवाद भएको समयमा चौधरी, राजवंशी र अरु साथीहरु पनि सँगै भएको खुलेको छ, विवाद पछि राजवंशीले घर गएर बञ्चरो ल्याइ भुँइमा एक्लै बसेर लागुऔषध बनाइरहेका चौधरीलाई पछाडिबाट बञ्चरो प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।”


हत्यामा संलग्न राजवंशी हत्यापश्चात फरार थिए । उनलाई खोजतलास गर्ने क्रम बुधबार साँझ कनकाई नगरपालिका– ७ त्रिवेणी विकास टोलबाट पक्राउ गरिएको प्रमुख रिजालले बताए । हत्यामा प्रयोग गरिएको बञ्चरो, घटनास्थल नजिकै भेटिएको राजवंशीको चप्पल र हत्या गरिएको समयमा लगाएको कपडा प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्