दमक, असोज २९ । दमक ६ स्थित देवकोटा चौंकमा रहेको शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले विहीबार आफ्नो दशौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले यस वर्ष कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर चरणवद्ध रुपमा साधारणसभा सम्पन्न गरेको व्यवस्थापक लोचन ढुंगानाले बताएका छन् । संस्थाको कार्यालयमा बिहीबार साधारणसभा औपचारिक रुपमा समापन गरिएको थियो ।
साधारणसभा समापन कार्यक्रम संस्थाका अध्यक्ष गुरुभक्त ढुंगानाको अध्यक्षता तथा सल्लाहकार संयोजक डाक्टर घनश्याम सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहकारीका लेखा समितिका संयोजक मोहन श्रेष्ठ,व्यवस्थापक लोचन ढुंगाना लगायतका सञ्चालक ,विभिन्न उपसमिति,कर्मचारीहरुको उपस्थिति रहेको थियो । साधारणसभाले संस्थाका अध्यक्षको बार्षिक प्रतिवेदन र लेखा समितिवाट प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरेको छ । संस्थाले सदस्यकेन्द्रित आर्थिक कारोवारसंगै सामाजिक कार्यअन्तर्गत सामाजिक उत्तरदायी सम्बन्धी विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको व्यवस्थापक ढुंगानाले बताए ।
कोरोनाका बावजुद कारोवार वृद्धि
संस्थाले कोरोना महामारीका बावजुद कारोवार पनि बढाउँदै लगेको छ । अघिल्ला वर्षको तुलनामा गएको वर्ष समग्र कारोवार बृद्धि गर्न सफल भएको हो । आर्थिक बर्ष २०७५–०७६ को अवधिमा ७६० शेयर सदस्य रहेकोमा गत वर्ष त्यसमा बृद्धि गरि ८८७ पुगेको छ । त्यस्तै, निक्षेप मौज्दातमा ६ करोड ७४ लाख ३७ हजार ७६८, कर्जामा ५ करोड ८९ लाख ८९ हजार २५३ ,कोषमा ५८ लाख ८८ हजार ८ सय २२ र कुल वासलात ८ करोड ४४ लाख १३ हजार ३२३ पुर्याउँन सफल भएको पारित प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्