अर्जुनधारा, कात्तिक २ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको चौथोँ व्यवसाय एनएमसी कोपसपको सातौँ पसल अर्जुनधारामा सञ्चालनमा आएको छ । अर्जुनधारा–३ खुदुनाबारी बजारमा सुरु भएको पसलको उद्घाटान अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले गरे । कोपसपको उद्घाटन गर्दै नगरप्रमुख रानाले डेढ वर्षको अन्तरालमा एनएमसीले अर्जुनधारालाई दुईवटा अमूल्य रत्न दिएको र दुवैको उद्घाटन आफैँले गर्ने अवसर पाएकोमा आभार प्रकट गरेका छन् । २०७६ जेठ १५ गते शनिश्चरेमा खोलिएको पहिलो एनएमसी सहकारी पसलको नगरप्रमुख रानाले नै उद्घाटन गरेका थिए ।


स्थानीय कृषकका उत्पादनसमेत सहकारीले किनिदिएर बजारीकरणमा सहयोग गरेमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउँदै नगरप्रमुख रानाले सहकारीले सञ्चालन गर्ने पसलहरु औद्योगिक उत्पादनले मात्र भरिन नहुने प्रष्ट पारे । सहकारी ऐनमा धेरैवटा सहकारी मिलेर उद्योग खोल्नसक्ने प्रावधान भएकाले नगरभित्रका सहकारीहरुको एकतावद्ध प्रयास भएमा स्थानीय उत्पादनहरुले बजारीकरणमा मौका पाउने नगरप्रमुख रानाको भनाई छ ।


उद्घाटन कार्यक्रममा तत्कालीन संविधानसभाका सदस्य प्रेम गिरीले खुदुनाबारीमा एनएमसी कोपसप सञ्चालनलाई यहाँको विकासको कोशेढुंगाका रुपमा चर्चा गरेका छन् । खुदुनाबारीको भूगोलबारे चर्चा गर्दै गिरीले विटक ठानिएको क्षेत्रमा यस्ता मार्टहरुको स्थापनाले शहरीकरणलाई प्रोत्साहित गर्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध हुने बताए । सहकारीलाई सानोखाले बैंक ठान्नेलाई एनएमसीले व्यवहारबाटै जवाफ दिइरहेकोले यसैगरी अन्य सहकारीहरुले पनि सिर्जनशीलता प्रस्तुत गर्न गिरीले सुझाव दिए । आधुनिक तवरले व्यवस्थापन गरिएको खुदुनाबारीको एनएमसी कोपसप हाम्रो हो भन्दै उनले स्थानीयलाई वस्तु उपभोग गरी लाभ उठाउन सुझाव पनि दिए ।


संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले विभिन्न बजार क्षेत्रमा एनएमसी कोपसपको विस्तारका विषयमा चर्चा गर्दै जहाँ–जहाँ यस्ता मार्ट खुलेका छन्, त्यहाँका उपभोत्तालाई न्याय हुन थालेको जिकिर गरे । औद्योगिक वस्तुहरु बेचेर नाफा कमाउनेभन्दा स्थानीय उत्पादनको बजारीकरणमा एनएमसी कोपसपको ध्यान जाने जानकारी गराउँदै अध्यक्ष उप्रेतीले दाल, तिल, मरिच, चिया, मह आदि जे वस्तुहरु उत्पादन गरिन्छन्, यहाँबाट बेच्ने व्यवस्था मिलाइने प्रष्ट पारे ।

एनएमसीका पाँचवटै व्यवसायको संक्षिप्त परिचय गराउँदै अध्यक्ष उप्रेतीले संस्थाको प्रकृति बहुउद्देश्यीय भएकाले २०७२ सालदेखि बहुव्यवसायमा जोडिएको जानकारी गराए । उनकाअनुसार एनएमसी कोपसपको अर्को पसल गौरीगञ्जमा यही कात्तिक ५ गते उद्घाटन गरिनेछ भने बुधबारे र बिर्तामोडमा मंसीरभित्र पसल खोल्ने तयारी छ । एनएमसीका सञ्चालक सदस्य तथा अर्जुनधारा क्षेत्रीय संयोजक कमलप्रसाद गुरागाईंको अध्यक्षतामा खुदुनाबारी कार्यालय प्रमुख मानबहादुर बुढाथोकीले एनएमसी कोपसप उद्घाटन समारोहको सञ्चालन गरेका थिए । उद्घाटन समारोहमा सहभागीहरुलाई खुदुनाबारी कार्यालयगत उपसमितिका सदस्य कुन्तादेवी खनालले शाब्दिक स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्