बिर्तामोड कात्तिक, ४ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले ७५ वर्ष नाघेका २ जना जेष्ठ सदस्यलाई परिवार राहत वितरण गरेको छ । सेवा केन्द्रले मंगलवार कार्यालयमा संस्थाका सदस्य लेखनाथ दाहाल र मेघराज चौहानलाई जनही एकलाख रुपैयाँसहित सम्मान गरेको हो ।


सेवा केन्द्र सहयोग समिति संयोजक केदारशम्शेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका मेयर राजेन्द्रकमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पोखरेलले उनीहरुलाई चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर पोखरेलले सहारा नेपालको सामाजिक कार्यले समाज रुपान्तरणमा सहयोग मिल्ने बताए । उनले सहाराले स्थानीय सरकारको समन्वयमा गरेको सामाजिक कार्यमा जनप्रतिनिधिहरुको साथ र सहयोग सधैँ मिल्ने बताए । सहाराको सामाजिक कार्यले जनप्रतिनिधिलाई पनि प्रेरणा मिल्ने उनको भनाई थियो । सोही कार्यक्रमका बीच प्रमुख अतिथि मेयर पोखरेलले मंगलवारको संस्थाको कारोवारको उद्घाटन समेत गरेका थिए ।


स्वागत तथा कार्यक्रममाथि प्रकाश लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारती गरेका थिए । कार्यक्रममा संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले सदस्यहरुले कारोबारको पहिलो रोजाईको संस्था सहारालाई बनाउनु पर्नेमा जोड दिए । संस्थाले अहिले ७५ वर्ष नाघेका १२ जना सदस्यलाई वार्षिक एकलाख रुपैयाँ दिदँै आएको बताए । ‘परिवार राहत वितरण कार्यक्रम अन्तर्गत दिइने उक्त रकम ५ वर्षसम्म निरन्तर दिइने छ ’ उनले भने ।


कार्यक्रममा सम्मानित जेष्ठ सदस्यका तर्फबाट लेखनाथ दाहालले सहाराको कार्यप्रति सन्तुष्टि भएको बताउँदै धन्यवाद दिएका थिए । कार्यक्रममा संस्थाका अनुगमन कार्यालय बिर्तामोडका अनुगमन अधिकृत घनश्याम रायलगायत सेवा केन्द्रका कर्मचारीको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सेवा केन्द्रका वरिष्ठ कर्मचारी खगेन्द्र निरौलाले गरेका थिए । संस्थाले १ वर्षको अवधिमा विपन्नलाई राहत वितरण, कोरोना राहत कोषलाई रकम हस्तान्तरण, सदस्यलाई विभिन्न तालिम, विउविजन वितरण, निःशुल्क स्वास्थ्य शिविरलगायतको ३८ वटा सामाजिक कार्य गरेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्