बिर्तामोड , कात्तिक ६ । पत्रकार तीर्थ सिग्देलद्वारा लिखित यात्रा संस्मरण एक दिन (समय कथा) बजारमा आएको छ ।

यो उनको चौथो कृति हो । दक्षिण एसियाका आधा दर्जन देशहरुको भ्रमण पश्चात तयार भएको यो कृतिले एउटा सन्देश दिने प्रयास गरेको छ । खासगरेर १४ वटा च्याप्टरमा लेखकले दुबई, श्रीलंका, भारत, कतार, बंगलादेश, सिंगापुर, मलेसियाजस्ता देशहरुले गरेका प्रगतिका कथा र हाम्रो देशले भोगेका पीडा समेटेका छन् ।
मुलुक बनाउन कति समय लाग्छ ? देश बनाउने कसम खाएर आएको नेतृत्वले चाह्यो भने मुलुक सिंगापुर बन्न सक्छ । मलेसिया बन्न सक्छ, त्यति मात्र होइन, आजको कतार र दुबईले गरेको प्रगतिलाई नियाल्ने हो भने हाम्रो मुलुक बनाउन केवल प्रतिबद्धता मात्र चाहिन्छ । आँट, धैर्यता र त्याग चाहिन्छ । लेखकले यस्ता धेरै बिषय यो पुस्तकमार्फत बजारमा ल्याएका छन्, जसले खासगरेर पूर्वको बजारमा बहस चलाएको छ भन्दा फरक पर्दैन ।
भ्रमणलाई केबल घुमफिरको रुपमा र मजा लिने माध्यम मात्र बनाएका नेपालीहरुका लागि यो पुस्तक एउटा गाइड बन्ने अपेक्षा गरिएको छ । अझ यसलाई पर्यटनग्रन्थको रुपमा लिन सकिन्छ । पुस्तकको बारेमा दमक क्याम्पसका नेपाली बिषयका प्राध्यापक शिव रेग्मी प्रणतले भनेका छन्, ‘यो एउटा पर्यटनग्रन्थ हो र यो पुस्तकले पाठकलाई यात्रा गराउँछ । उनकै टिप्पणीलाई आधार मान्ने हो भनेपनि यो पुस्तकले सफलता प्राप्त गर्ने छ ।’
लेखक सिग्देल अनुभवी पत्रकार हुन् । आजसम्म चारबटा किताब लेखेपनि उनले आफूलाई कहिल्यै लेखक हुँ भन्न रुचाएनन् । मूलतः आफूलाई पत्रकारकै रुपमा चिनाउन चाहने उनले यसअघि कथासंग्रह मनोनेट निकाले । त्यसअघि पूर्वको राजनीति र जीवनको गति पुस्तक लेखेका थिए ।
भ्रमणलाई मनोरंजनको आधारको रुपमा मात्र लिनु हुन्न भन्ने लेखकको मान्यता छ । उनले सुरुमै लेखेका छन्, ‘म घुम्नु वा भ्रमण गर्नुलाई सिकाइको रुपमा लिन्छु । खासगरेर नेपालसँग त्यहाँको अबस्थाको बारेमा तुलना गर्छु । यो किताब त्यही अवस्थाको प्रतिबिम्ब हो । ’
हाम्रा देशका नेताहरुले नेपाललाई कहिले सिंगापुर त कहिले अमेरिकाजस्तो बनाउँछु भने । तर, त्यस अनुरुपको काम गरेनन् । यो पुस्तकले मुलुक समृद्ध बनाउने सुत्र दिएको छ । ‘ कसो गर्दा देश बन्छ र त्यसका लागि देखेका र भोगेका कुराबाट पाठ सिक्नुपर्छ । आफैले भोगेको यथार्थ हुन्छ । अरुकै गल्तीबाट पाठ सिकेर अगाडि बढ्नु नै श्रेयस्कर हुन्छ, किनभने आफ्नो गल्तीले उठ्न दिँदैन’ लेखकले भनेका छन् ।
एक दिन (समय कथा) नामक यो पुस्तक मिडिया रिसर्च सेन्टरले छापेको हो । यसको मूल्य ३ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्