सिलिगुडी ,कात्तिक १८ । भारतको सिलिगुडीस्थित किन्स अस्पतालमा उपचारका लागि भर्ना भएका मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

उनको केही दिनअघि पिसिआर परीक्षणका लागि अस्पतालले थ्रोट स्वाव नमूना संकलन गरेको थियो । आज प्राप्त रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । उनको फोक्सो र छातीको सिटी स्क्यान गरिएको र त्यसको रिपोर्टमा संक्रमण कम देखिएकोले क्रमशः सुधार आएको अस्पतालले जनाएको छ ।
आचार्यको असोज २८ गते झापाको कन्काई नगरपालिकास्थित कन्काई प्रयोगशालामा पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसलगत्तै उनी होम आईसोलेसनमा बसेका थिए ।
तर्, उनको थप स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले कात्तिक ४ गते विराटनगरस्थित नोवल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।सोचे अनुसार एक सातासम्म नोवल मेडिकल कलेजमा स्वास्थ्यमा सुधार नआएपछि राखेर कातिक ११ गते पश्चिम बंगालको सिलिगुडीस्थित किन्स अस्पतालमा भर्ना गरिएको आचार्यकी पत्नी गीता प्रसाईं आचार्यले बताइन् । आज मेचीनगर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नवीन वराल, नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती स्थानीय प्रशासन प्रमुखसहितको टोलीले अस्पताल पुगेर नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको थियो ।
‘अहिले मलाई धेरै राम्रो छ , डक्टरले एकसातापछि डिस्चार्ज गर्ने संकेत गर्नुभएको छ ’नगरप्रमुख आचार्यले भने, ‘अहिले छाती र फोक्सोमा संक्रमण रहेछ क्रमशः सुधार हुने चिकित्सकले बताएका छन् ।’ अस्पतालले आफ्नो उपचारमा कुनै कुराको कमी हुन नदिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्