भद्रपुर, मंसिर २ । दक्षिणी झापाको कचनकवल ४ स्थित पाठामारीमा रहेको नेपाल भारत सिमानाको ११२ नम्बरको जंगे पिलर ढल्ने अवस्थामा पुगेपनि नेपाल भारत सीमा सुरक्षा बलले संरक्षणका लागि पहल गर्न सकेका छैनन् ।

केही वर्षयता पूर्वी तटबाट मेची नदी निरन्तर पश्चिमतिर कटान गर्ने क्रम निरन्तर रहँदा नेपाल भारत सिमाना छुट्याउने पिलर ढल्ने अवस्थामा पुगेपनि दुवै देशका सुरक्षा बलले कटान रोक्न सरकारी ध्यानाकर्षण गराउन नसकेका हुन् ।सीमा आसपासका बासिन्दाका अनुसार चार वर्ष अगाडिसम्म मेची नदीको बहाव एक किलोमिटर पूर्व नै रहेको थियो । त्यसयता निरन्तर पश्चिमतिर धार परिवर्तन गरेको नदीको कटानका कारण सीमा क्षेत्रको नेपाल भारत दुवै देशतिरको सयौं बिगाह जमिन कटान गरिसकेको छ । नेपालीहरूले नेपालतिरको सरकार गुहार्दै नदी कटान रोक्न अनुरोध गरेपनि सीमा स्तम्भभन्दा एक किलोमिटर माथिसम्म तटबन्धनको काम ६ वर्ष अगाडिबाट सुरू भएपनि पूरा हुन सकेको छैन भने भारतीय पक्षले सो सीमा स्तम्भ आसपास तटबन्धको विषयमा चासो नराखेको भारतीय नागरिकको भनाइ छ ।

नेपाल भारत दुवै देशको साझा सरोकारको विषय भएपनि दुवै देशका सरकारी पक्षको चासो सीमा पिलर जोगाउन नरहँदा ११२ नम्बर पिलर अर्को वर्ष देख्न पाइने नपाइने केही भन्न नसकिने स्थानीय नागरिक बताउने गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्