काँकरभिट्टा, मंसिर १३ । नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा तयार गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सबै पक्ष सहमत भएका छन् ।

निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेतीको सभापतित्वमा शनिबार बसेको सर्वपक्षीय छलफलमा सहभागीहरु कात्तिक २० मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका सवै शैक्षिक संस्था सञ्चालन गर्न सहमत भएका हुन् । प्रदेशसभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली , राधा थापा, संविधानसभा सदस्य रविन कोइरालासहभागी छलफलमा निमित्त नगर प्रमुख उप्रेतीले छलफलका विषयहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएकी थिइन् । नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाका बारेमा जानकारी गराए ।

शिक्षक, अभिभावक, विद्यालय, समुदाय, बाल तथा युवा क्लब, जनप्रतिनिधि, स्वास्थ्यकर्मी आदिको समन्वय र सहभागितामा विद्यालय खोल्ने आधार तयार गरिएको बताउदैं नगर शिक्षा अधिकारी भण्डारीले बाल विकास लगायतका सवै बालबालिकाहरुको संख्याका आधारमा सफापानी र सावुनसहितको हातधुने व्यवस्थालगायतका २० बुँदे मापदण्डका बारेमा सहभागीहरुलाई जानकारी गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्