दमक, मंसिर १५ । कोरोना संक्रमण फैलिएसंगै बन्द गरिएका विद्यालयहरु झापामा विस्तारै खुल्न थालेका छन् । संक्रमणका कारण बन्द रहेका जिल्लाका विद्यालयहरु ८ महिना पछि पुनः सञ्चालनमा आउन थालेका छन् ।


विद्यालय खुलाउन संघीय सरकारले सम्बन्धित पालिकाहरुलाई नै निर्णय गर्ने अधिकार प्रदान गरेपछि जिल्लाको माइपश्चिम क्षेत्रका अधिकांस स्थानीय तहले केहिदिन अघि देखि नियमित पठनपाठन सञ्चालनमा ल्याएका हुन् । यसैक्रममा दमक नगरपालिकाले आजदेखि नगरका विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा पठनपाठन सञ्चालनमा ल्याएका छन् । खोलिएका अधिकांस विद्यालयहरु नीजि रहेका छन् । तर यहाँका अधिकांश संस्थागत विद्यालयहरुले भने अनलाईनवाट शिक्षण कार्य गर्दै आएका छन् ।


पठनपाठन सुचारु गर्न चाहने विद्यालयका लागि संघीय सरकारले तोकेका मापदण्डहरु पूरा गरेपछि सम्बन्धित वडा कार्यालयको सिफारिसमा दमक नगरपालिकाको शिक्षा शाखाले सञ्चालनको अनुमति दिने गरेको दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । वडावाट सिफारिस लगेलगत्तै विद्यालयहरु धमाधम खुल्न थालेको उनले बताए ।


दमक– ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूललका प्रिन्सिपल श्रवणकुमार पोखरेलले संघीय सरकारद्धारा विद्यालयका लागि तोकिएका मापदण्डहरु पूरा गर्न केही समय लागेकाले आज सोमबारदेखि विद्यालयमै पठनपाठन शुरु गरिएको बताएका छन् । मापदण्ड अनुसार कक्षा सञ्चालन गर्नका लागि बिहान र दिउँसो दुई सिफ्टमा पठनपाठन सञ्चालन गर्नुपरेको उनले बताए । आफनो विद्यालय कक्षा ४ सम्म बिहान पहिलो सिफ्टमा र कक्षा ५ देखि माथि दिउँसो दोश्रो सिफ्टमा पठनपाठन गर्ने व्यवस्था गरिएको प्रिन्सिपल पोखरेलले जानकारी दिए ।


सरकारले विद्यालय परिसरमा नियमित रुपमा सेनिटाइज गर्नुपर्ने, विद्यार्थी ओसार्न प्रयोग गरिने स्कूल बसहरु र कक्षाकोठामा मापदण्ड अनुसार भौतिक दुरीकायम गर्ने व्यवस्था हुनुपर्ने, ठाउँ ठाउँमा हात धुने व्यवस्था मिलाउनु पर्ने लगायतका मापदण्डहरु तोकिएको छ । सरकारद्धारा जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरे, नगरेको सम्बन्धित वडाबाट स्थलगत अनुगमन गर्ने र आवश्यक मापदण्डहरु पूरा गरेको विद्यालयलाई पठनपाठन सूचारु गर्न अनुमतिका लागि वडा कार्यालयले सिफारिस गर्ने व्यवस्था गरिएको दमक –३ का वडाध्यक्ष नबिन बरालले बताए । सो वडाबाट अहिलेसम्म दुई वटा विद्यालयले मात्र अनुमतिका लागि सिफारिस लिएको उनले बताए । दमक नगरपालिकाको शिक्षा शाखाका अनुसार दमकमा ३१ वटा सामुदायिक र ९० वटा संस्थागत विद्यालयहरु रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्