झापा , मंसिर १९ । झापाको मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर ८ का राजवंशी थरका ५५ वर्षिय पुरुष रहेका छन् । उनको आज बिहान नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । अन्य समस्या भएर विराटनगर लगिएका राजवंशीको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । मृतकको लाशलाई नेपाली सेनाद्वारा कनकाई माईमा अन्त्येष्टि गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले बताए । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ११ पुगेको छ । त्यस्तै झापामा कोरोना संक्रमणबाट सक्रिय संक्रमितको संख्या २ हजार ३४५ पुगेको छ । उनीहरु सक्रिय संक्रमित भई विभिन्न आइसोलेसन र होम आइसोलेसनमा उपचाररत छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सक्रिय संक्रमित भएकामध्ये विभिन्न आइसोलेसनमा उपचाररतको संख्या १ हजार १७८ रहेको छ । त्यस्तै, सक्रिय संक्रमित भएका तर होम आइसोलेसनमा १ हजार १६७ जना उपचाररत छन् ।यसैबीच, आज झापाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र झापाका ९ महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार ३६ पुगेको छ । कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ७४३ रहेको छ । आज पुष्टि भएकाहरुमा दमकका २ महिला र ३ पुरुष, बिर्तामोडका ४ महिला, शिवसताक्षी र झापा गाउँपालिकाका १–१ महिला र ३–३ जना पुरुष, मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका ३–३ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका १ महिला र १ पुरुष तथा पालिका नखुलेका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्