बिर्तामोड पुस १७ । आन्तरिक राजस्व कार्यालय भद्रपुर प्रविधिमैत्री बन्दै गएसँगै पछिल्लो समयमा राजस्व संकलनमा पनि उल्लेखनीय योगदान गरिरहेको छ । मुलुक कोरोना महामारीको विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा पनि कर संकलन नघटेको आन्तरिक राजस्व कार्यालय भद्रपुरले जनाएको छ ।


चालू आर्थिक वर्ष २०७७÷२०७८मा ३ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको आन्तरिक राजस्व कार्यालय भद्रपुरले मंसिरसम्ममा १ अर्ब ३४ करोड संकलन गरिसकेको छ । “मंसिरसम्म १ अर्ब ५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेका थियौँ” आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख युवराज श्रेष्ठले भने, “अहिलेसम्मको तथ्यांकलाई हेर्दा १ सय २७ प्रतिशत कर संकलन भएको छ ।”


कोरोनाको समयमा आन्तरिक व्यापार बढेकाले पनि कर संकलनमा सुधार आएको श्रेष्ठको भनाई छ । “हिजोसम्म ५ किलो चिनी किन्न सिमा बजारमा पुग्ने नागरिक आज आफ्नै ठाउँमा किनमेल गर्ने थाल्नु भएको छ” श्रेष्ठ भन्छन्, “यसले पनि अप्रत्यक्ष रुपमा कर बृद्धिमा सहयोग गरेको छ ।” कर छली रोक्नका लागि पनि विभिन्न रणनीति बनाएर कर कार्यालय लागि परेको श्रेष्ठले बताए ।
आन्तरिक राजस्व कार्यालयले पछिल्ला दिनमा नीतिगत सुधार पनि गर्दै लगेको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखी कार्यालयबाट अनलाइन सेवा मार्फत् व्यक्तिगत स्थायी लेखा नम्बर लिन मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । करदाता दर्ता प्रणालीलाई गुणस्तरीय बनाई अर्काको नाममा कारोबार गर्ने कार्यलाई दुरुत्साहन गर्न विभागले मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताहरूको अभिलेख बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्ने कार्य कार्यान्वयनमा ल्याएको छ ।


कार्यालयले प्रविधिमा ल्याएको सुधारपछि विद्युतीय भुक्तानीको दायरा बढाइएको छ । पहिले एक लाखसम्म मात्रै कारोबार गर्न सकिन्थ्यो भने अब जतिसुकै रकमको कर सेवाग्राहीले विद्युतीय माध्यम मार्फत् भुक्तानी गर्न सक्ने श्रेष्ठले बताए । अधिकांश काम अनलाइनबाट नै हुने भएकाले कर कार्यालयसम्म धाउनुपर्ने बाध्यता घटेको देखिन्छ ।


साना करदाताहरूले कर चुक्तासमेत अनलाइन मार्फत् लिन शुरु गरेका छन् । करदातालाई स्थायी लेखा नम्बर लिन, आय विवरण, मूल्य अभिवृद्धि कर विवरण, अन्तःशुल्क विवरण समेतका विवरण पेस गर्न कार्यालय नगई अनलाइन बाटै गर्न सकिने व्यवस्था गरिएको छ । भद्रपुरले बजार अनुगमन गरी सबै व्यवसायीकलाई करको दायरामा ल्याउने काम गरेको छ । अबैध रुपमा बिक्री वितरण हुने रक्सीलाई कानुनी कारवाही गर्दै आएको श्रेष्ठले बताए ।


कर नतिर्नेहरुको घरजग्गा रोक्का तथा बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । “सबै जना करको दायरामा आउनुपर्छ भन्ने हाम्रो धारण हो” श्रेष्ठले भने, “त्यसैले सबै नागरिकलाई बील लिएर मात्र कारोबार गर्न अनुरोध गर्दछौँ ।” झापा, इलाम, पाँचथर र ताप्लेजुङ सेवा क्षेत्र रहेको कर कार्यालयमा प्लाइउड, चिया, अलैंची लगायतका उत्पादनले कर संकलनमा योगदान पु¥याएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्