मेचीनगर , माघ १२ । राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको पक्षमा संघर्षरत् राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरमा वडास्तरीय संगठन विस्तार अभियानलाई तीव्र पारेको छ ।

यही फागुनको दोस्रो साता हुने भनिएको पार्टीको छैठौं नगर अधिवेशनलाई लक्षित गरी १५ वटै वडामा धमाधम संगठन विस्तार भइरहेको नगर अध्यक्ष सुशील आचार्यले बताए ।
‘अधिवेशनमार्फत अहिलेसम्म ५ वटा वडामा संगठन निर्माण कार्य सम्पन्न गरेका छौं’ उनले भने–‘अधिवेशनमार्फत एक वडा बराबर २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भइरहेको छ ।’
नगर पार्टीले एक महिनाभित्र वडा समिति विस्तार कार्यलाई पूर्णता दिनेगरी यही माघ १ गतेबाट सुरु गरेको अभियानका क्रममा ६, ७, ९, १२ र १५ नम्बरको नेतृत्व चयन गरिसकेको छ ।त्यसक्रममा वडा नम्बर ६, ७, ९, १२ र १५ को अध्यक्षहरुमा क्रमशः नेत्रप्रसाद पराजुली, राजु शिवाकोटी, राजुकुमार पोद्धार, इन्द्रमणि प्रसाईं र सन्तराज कार्की निर्वाचित भएका छन् ।
माघ मसान्तभित्र सबै वडाका सक्रिय सदस्यहरुको लगत संकलन गरी नगर पार्टीसमक्ष बुझाउने अभियान समेत चलिरहेको जानकारी गराउँदै उनले भने–‘बाँकी वडामा पनि अधिवेशनको तयारी भइरहेको छ ।’

अध्यक्ष आचार्यका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिले देशव्यापी रुपमा संगठन विस्तार अभियान अघि बढाएको हो । सोही क्रममा यसअघि नगरका वडामा सम्पन्न अधिवेशनबाट ७५ जना राप्रपामा प्रवेश गरेका उनको भनाई छ ।‘अधिवेशनको दौरानमा पार्टी प्रवेश गर्नेहरुमध्ये अधिकांश नेकपाका छन्, बाँकी काँग्रेसका छन्’ उनले भने–‘राप्रपाप्रति जनलहर बढ्नेक्रम जारी छ, समर्थक शुभचिन्तक थपिदैछन् ।’
यसअघि पार्टीका केन्द्रीय सदस्य प्रजापति कोइरालाको प्रमुख आतिथ्यतामा मेचीनगरको जोरसिमलमा पार्टी र चुनाव चिन्ह्को झण्डा झण्डोत्तोलन कार्यक्रम गरिएको उनले बताए ।सो अवसरमा पार्टी प्रदेश नम्बर १ का सदस्य रमेश दाहाल, देवी दंगाल, जिल्ला सदस्य सविना बजगाईं, शारदा पराजुली, दिपेश राईलगायत नगरस्तरीय नेता तथा कार्यकर्ताको आतिथ्यता थियो ।
‘पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय र निर्देशन बमोजिम यो कार्यक्रम गरेका हौं’ अध्यक्ष आचार्यले थपे–‘यही माघ १० गते देशभरका ७ सय ५३ वटै स्थानीय तहमा यो कार्यक्रम भएको थियो ।’यसैबीच, तत्कालीन राप्रपा, राप्रपा संयुक्त र राप्रपा प्रजातान्त्रिकबीचको एकतापछि निर्माण भएको राप्रपा आउँदो वैशाखमा राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा जुटेको छ ।वैशाख २५, २६, २७ र २८ गतेलाई एकतापछिको दोस्रो राष्ट्रिय महाधिवेशनको मिति तोकेर देशव्यापीरुपमा तयारी थालिएको पार्टी स्रोतले जनाएको छ ।
महाधिवेशनअघि आगामी वैशाख १५ गतेभित्रमा पालिका, क्षेत्रीय, जिल्ला तथा प्रदेश समितिको अधिवेशन भइसक्ने बताउँदै एक नेताले भने–‘यसपटक झापा जिल्ला पार्टीले नयाँ नेतृत्व पाउने सम्भावना प्रबल छ ।’ तीनवटा पार्टीको एकतापछि निर्माण भएको राप्रपा केन्द्रीय समितिको अध्यक्षहरुमा हाल कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी छन् ।