झापा, माघ १५ । महिला उद्यमी संघ झापाले शनिबार बिर्तामोडमा खाना महोत्सव गर्ने भएको छ ।

महोत्सवमा उद्यमी महिलाले तयार पारेका खाद्य परिकार पाहुनालाई खुवाइने महिला उद्यमी संघ झापाले जनाएको छ ।
मौलिक परिकारलाई प्रचार र व्यावसायिक प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको महिला उद्यमी संघ झापाकी अध्यक्ष नैनकला भट्टराईले बताइन् । “खाद्यलाई उद्यमसँग जोड्न १ दिने महोत्सवको आयोजना गरेका छौँ” भट्टराईले भनिन्, “गत वर्षदेखि शुरु गरिएको खाना महोत्सवलाईं यस वर्ष पनि निरन्तरता दिएका हौँ ।”
महिला उद्यमी संघ प्रदेश–१ संयोजक गोमा भट्टराई गत वर्षको खाना महोत्सव प्रभावकारी भएकै कारण यस वर्ष पनि आयोजना गरिएको बताउँछिन् । खाना महोत्सवमा ढिँडो, गुन्द्रुकको अचार, सेलरोटी, तरुल, तरकारी, सिस्नोको सुपलगायतका परिकार खुवाइने भट्टराईले जानकारी दिइन् । झापाकै महिला उद्यमीले उत्पादन गरेको मौलिक साथै अग्र्यानिक परिकारको स्वाद सबैलाई चखाउने उद्देश्य रहेको उनले बताइन् । महोत्सवमा १ हजार जनालाई मौलिक परिकारसहितको खाना खुवाउने लक्ष्य राखिएको छ ।