ईटाभट्टा , माघ १५ । मेचीनगरस्थित थामी जातिको भूमे थान सामुदायिक भवन आवश्यक आर्थिक सहयोग जुट्न नसक्दा स्तरोन्नति हुन सकेको छैन ।

सरकारले अति सीमान्तकृत आदिवासी जनजातिमा सूचीकृत गरेको यो जातिको कुलपूजा गर्ने ठाउँ (भूमेथान) सहितको भवन आर्थिक अभावका कारण स्तरोन्नति हुन नसकेको हो ।
स्थानीयको जनश्रमदानसहित संकलित कुल ६ लाख ९७ हजार ५ सय २६ रुपैयाँ खर्चिएर ७ वर्षअघि सो भवन निर्माण गरिएको थियो । तर, आवश्यक आर्थिक सहयोगको जोहो हुन नसक्दा बाँकी काम अधुरै रहेको भवनका सल्लाहकार संयोजक लालबहादुर थामीले बताए ।
‘भवन बनाउँदा स्थानीयबाट १ लाख ४५ हजार ९१ रुपैयाँ बराबरको जनश्रमदान भएको थियो’ उनले भने–‘नगरपालिकाबाट ३ लाख ९ हजार ९ सय ५० रुपैयाँ र वडा कार्यालयबाट १ लाख ५० हजार रुपैयाँ प्राप्त भएको थियो ।’
मेचीनगर नगरपालिका र मेचीनगर ८ नम्बर वडा कार्यालयले भूमेथान निर्माण अनुदान शीर्षकमा उक्त बजेट विनियोजन गरेको बताउँदै थामी भन्छन्–‘तर, अझै करीब १० लाख रुपैयाँ बराबरको काम अलपत्रै छ ।’

मेचीनगर–८, प्रतिभा टोलमा अवस्थित थामी जातिको कुलपूजा गर्ने ठाउँ (भूमेथान) निर्माण गर्ने क्रममा स्व. बहादुर थामी र सञ्चमाया थामीले ७ धुर जग्गा निःशुल्क सहयोग गरेका थिए ।
त्यस्तै सो कार्यका लागि भूमेथानका सल्लाहकार समेत रहेका स्थानीय अगुवा डिकबहादुर घिमिरेले १ धुर जग्गा उपलब्ध गराएको बताउँदै थानका अध्यक्ष नारायण थामीले भने–‘त्यसबेला अन्य दाताहरुबाट १ लाख १४ हजार ८५ रुपैयाँ जुटेको थियो ।’
सो भवनमा भूँई ढलान, टाइविम, चेनगेट र ईँटा लगाउने, टाइल्स र सिलिङ जडान, रंगरोकन, विद्युत वाइरिङ, थान प्रवेश गर्ने पैनी अगाडि पुल निर्माणलगायतका काम अपुरै छ ।
‘हामीले एक महिनाअघि बजेट स्टिमेट गरी नगरपालिकसँग माग गरेका छौं’ नेपाल थामी समाजका झापा जिल्ला अध्यक्ष समेत रहेका लालबहादुर थामीले भने–‘सहयोगको आश्वासन पाएका छौं ।’
आर्थिक सहयोग व्यवस्थापनका लागि सम्बद्ध निकायबाट ढिलासुस्ती भएको बताउँदै उनले भने–‘स्रोत जुट्ने बित्तिकै थाँती रहेका अधुरा योजना अगाडि बढ्छन् ।’
राज्यले अल्पसंख्यक जातिलाई प्राथमिकतामा राखेतापनि जनसंख्याको आधारमा बजेटमा विभेद हुने गरेको थामी समुदायका अगुवाको गुनासो छ ।

किराँतेश्वर महादेवको पूजा आराधना गर्ने थामी जाति किराँत धर्मावलम्बी हुन् । तर, यो जातिको धेरैजसो संस्कार र संस्कृति हिन्दू धर्मसँग मिल्दोजुल्दो पाइने गरेको छ । वर्षमा दुईपटक मात्र पूजापाठ गर्ने यो जातिले उधौंली र उभौंली पूजा धुमधामका साथ गर्दै आएका छन् ।
मेचीनगरको ईटाभट्टा चोकदेखि उत्तरतर्फ करीब १७ सय मिटरको दूरीमा अवस्थित यो भवनमा निकट भविष्यमा थामी समाजको झापा जिल्ला कार्यालय सञ्चालनमा ल्याइने बताइएको छ ।
सरकारको पछिल्लो जनगणना–२०६८ अनुसार देशभरमा थामी जाति २९ हजार ९ सय ९९ को संख्यामा छन् । सोही तथ्यांक अनुसार प्रदेश नं. १ मा ६ हजार र झापा जिल्लामा करिब ६ सयको हाराहारीमा यो जातिको बसोबास छ ।
मेचीनगरका अन्य वडामा बसोबास नपाइएको यो जाति वडा नम्बर ८ मा मात्र २५ घरधुरी छन् । दोलखा जिल्लाको साविकका आलम्पु लापिलाङलगायत १२ वटा गाविसमा थामी जातिको बाहुल्यता छ । यो जातिको उद्गम थलो दोलखामा हाल १८ हजार थामी बस्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्