गौरीगंज, माघ १९ । गौरीगंज –६ स्थित तल्लो रामचन्द्र सिंचाई आयोजनाको उद्घाटन भएको छ ।

प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सोमबार नहरको मुहानमा राखिएको रेगुलेटर घुमाइ रिवन काटेर उक्त आयोजनाको उद्घाटन गरेका हुन् । २०७५ साल असार २१ गते आयोजनाको निर्माण कार्य शुरु भएको थियो । दुई वर्षको समयावधिमा सम्पन्न भई आयोजना शुरु भएकोमा मन्त्री कार्कीले निर्माण व्यवसायी र आमउपभोक्तालाई धन्यवाद दिदै खुशी व्यक्त गरेका छन् ।

प्रदेश नं. १ भरि यस वर्ष जम्मा ५ वटा सिंचाई आयोजना सञ्चालनमा आउने बताउँदै त्यसमध्ये रामचन्द्र सिंचाई पहिलो आयोजना सञ्चालनमा आएकोले गरिबी निवारणमा यसले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री कार्कीले विश्वास व्यक्त गरे । गौरीगंज गाउँपालिका वडा नं. ५ र ६ को करिब ७ सय विगाह जमिन सिंचाई हुने र यसबाट प्रत्यक्षरुपमा कृषकहरु लाभान्वित हुने उनको भनाइ थियो । जलस्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरको आयोजनामा भएको उद्घाटन कार्यक्रममा आयोजनाको ठेक्का लिएका नयाँबाटो शिवाको सताक्षी जेभीका प्रतिनिधिलाई समयमै काम सम्पन्न गरेकोमा प्रशंसापत्र प्रदान गरिएको थियो । प्रदेश नं. १ सरकारले छुट्याएको करसहित ८ करोड ७९ लाख २० हजार रुपैयाँबाट निर्माण भएको उक्त आयोजनाको सम्पूर्ण कामहरु सम्झौता अनुसार सम्पन्न भएको हो ।

मुहानदेखि मुख्य नहरको लम्बाई ४.२ किलोमिटर रहेको छ र २ वटा शाखा क्यानल रहेको जलस्रोत तथा सिचाई विकास डिभिजन झापाका इन्जिनियर अनिलकुमार महतोले जानकारी दिए ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरका डिभिजन प्रमुख कृष्णप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. १ का सचिव मोहनकुमार शाक्य, ऊर्जा जलस्रोत सिंचाई महाशाखाका प्रमुख रमेश पौडेल, गेउरिया कृषि सुधार जल उपभोक्ता समितिका अध्यक्ष फणिन्द्र धमला, गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल, वडा नं. ५ का अध्यक्ष विजयसिंह गन्गाई, उपभोक्ता समितिका सचिव नगेन्द्र डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी गौरादह नगरपालिका वडा नं. ६ स्थित हेङ्गाटोली सोलार सिंचाई योजनाको पनि उद्घाटन भएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले उक्त योजनाको सोमबार नै उद्घाटन गरेका हुन् । प्रदेश सरकारको २७ लाख रुपैयाँको बजेटबाट सञ्चालन भएको सोलार सिंचाईबाट करिब १० हेक्टर जमिन सिंचित हुने जलस्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरका डिभिजन प्रमुख राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्