बिर्तामोड , माघ २६ । अनलाईनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर लाखौं ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा ९ स्थायी ठेगाना भएका २९ वर्षिय पंकज पौडेली वि.क. रहेका छन् ।उनलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिर्तामोड २ चारपानेबाट पक्राउ गरेको हो । पीडितहरुको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखामा ठगी मुद्दा दर्ता भएपछि महानगरीय अपराध महाशाखाको सूचनाको आधारमा बिर्तामोड प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । उनलाई खानतलासी गर्दा लाखौं नगद र अन्य सरसामान फेला परेको छ ।

उनले साथमा भिरेको कालो रंगको झोलाबाट नगद तीन लाख छपन्न हजार सात सय दश रुपैयाँ ,पंकज पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव ,विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र ,अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपि ,उनको गोजीभित्रवाट सिमसहितको मोवाइल २, घरकोठामा रहेको दराजभित्रबाट दुई लाख आठ हजार दुई सय नगद , घर पछाडिको ग्वाली छेउमा रहेको गोवरको थुप्रोभित्रवाट कालो रंगको लेडिज झोलाभित्र नगद आठ लाख तीस हजार तिन सय पाँच रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि तालुक महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्