बिर्तामोड , फागुन १ । सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन २ को उपाधि बिर्तामोडको देवी माध्यमिक विद्यालयको कक्षा ११मा अध्ययनरत छात्रा रोश्नी कार्कीले जितेकी छिन् ।
सूर्योदय टेलिभिजनले आयोजना गरेको सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन २ को शुक्रवार भएको ग्रान्ड फिनालेमा अन्तिम ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै रोश्नीले उपाधका हात पारेकी हुन् ।
यस्तै कञ्चनजंघा स्कुल बिर्तामोडमा कक्षा १२ मा अध्यनरत छात्रा प्रिसा खरेल फस्ट रनर अप र देवी माध्यमिक विद्यालय कक्षा ११ मा अध्यनरत छात्रा कृति खतिवडा सेकेण्ड रनर अप भएका छन् ।सान्त्वनातर्फको उपाधि रेड स्टार वोर्डिङ्ग स्कुल पथरी शनिश्चरे मोरङ्गमा कक्षा १०मा अध्ययनरत सुप्रिया खड्का र ज्ञान सरोवर शिक्षा निकेतन स्कुल भद्रपुरमा कक्षा ९मा अध्ययनरत रिना घिमिरेले जितेका छन् ।
विजेताहरुले क्रमशः ३० हजार,१५ हजार,१० हजार र ५–५ हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार प्रदान गरेका थिए ।स्पीच कन्टेस्टमा प्रदेश नम्बर १ का झापा,मोरङ,सुनसरी र इलामबाट ५० वटा विद्यालयका १ सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्व विद्यालयका एसोसिएट प्रोफेसर शिरोमणि खतिवडा‘शिरो सान्दाई’,बीबीसी न्युज नेपालीका झापा संवाददाता उमाकान्त खनाल र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहेका थिए ।कार्यक्रमको सञ्चालन शुभला तामाङले गरेकी थिइन् ।