बिर्तामोड, फागुन ४ । तीन वर्ष अघिसम्म खानेपानी र सरसफाइ सुविधा कमजोर रहेको सहिद शुक्रराज आधारभूत विद्यालयमा अहिले टायल लगाएका चर्पी छन् । सरसफाइ कर्मचारीहरु विद्यालयको सरसफाइमा नियमित खटिन्छन् । सबै विद्यार्थीका लागि शुद्धीकरण गरिएको पर्याप्त पिउने पानीको व्यवस्था गरिएको छ । विद्यालयमा बगैचा निर्माण गरिएको छ ।

बिर्तामोड–१० मा रहेको महेन्द्रज्योति माध्यमिक विद्यालयमा पूर्ण सरसफाइ प्रवद्र्धनका लागि सातझण्डे अवधारणा लागू गरिएको छ । बिर्तामोड–३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा शौचालय मर्मतसम्भार तथा स्तरोन्नति, विद्यालय सौन्दर्यकरण र बगैचा निर्माणको काम धमाधम भैरहेको छ ।
‘नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुलाई सरकारले तोकेको मापदण्डअनुसार सिकाइका वातावरणसहितका विद्यालय बनाउन नगरपालिका प्रतिवद्ध छ’, बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटी भन्छन्, “विद्यालयको भौतिक अवस्थामा सुधार तथा स्तरोन्नति, खानेपानी र सरसफाइ सुविधाको विस्तार, वातावरणीय सरसफाइ र आन्तरिक सौन्दर्यकरणका लागि समेत हामीले विद्यालयलाई पर्याप्त सहयोग गरिरहेका छौं ।”
खानेपानी र सरसफाइमा पहिलो जोडबल
बिर्तामोड नगरपालिकाभित्र रहेका सम्पूर्ण सार्वजनिक विद्यालयहरुमा अहिले शुद्धीकरण गरिएको पर्याप्त पिउने पानीको व्यवस्था गरिएको छ । ‘यस आर्थिक वर्षमा सबै विद्यालयमा शुद्धीकरण गरिएको पानीको व्यवस्था गरिसकेका छौं’, नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी भन्छन् ‘सबै विद्यालयमा पहिलो चरणमा टायल लगाइएका चर्पीको निर्माण गरिसकेका छौं, आउँदो शैक्षिक सत्रमा विद्यार्थी संख्याको अनुपातमा चर्पी र यूरिनलको व्यवस्था गर्नेगरी योजना बनाएका छौं ।’
विद्यालयमा सिकाइको वातावरण सृजना गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसमा जोड दिइएको भण्डारीको भनाइ छ । “अघिल्लो शैक्षिक सत्रदेखि नै सबै विद्यालयलाई छात्राको संख्याको आधारमा स्यानिटरी प्याड उपलब्ध गराइएको छ, भण्डारीले भने, “प्याडको उचित व्यवस्थापनका लागि समेत सहयोग गरिरहेका छौं ।”

नीतिगत व्यवस्थामा र निरन्तर सहजीकरणमा जोड
बिर्तामोड नगरपालिकाले समुदाय र विद्यालयमा सरसफाइ प्रवद्र्धनका लागि नीतिगत व्यवस्थामा जोड दिएको छ । सोमबार सम्पन्न नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका लागि कार्यविधि तयार गरी अनुमोदन र कार्यान्वयनका लागि नगर कार्यपालिकामा पठाएको छ । ‘पाँचवटा नीति तथा मार्गदर्शन पारित गरी कार्यान्वयनका लागि नगर कार्यपालिकामा पठाएका छौं’ नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत एवम् सरसफाइ फोकल पर्सन जय तिम्सिनाले भने,‘पूर्ण सरसफाइ नमूना समुदाय मार्गदर्शन, महिनावारी स्वच्छता मार्गदर्शन, पूर्ण सरसफाइ अनुगमन मार्गदर्शन र खाद्य स्वच्छता गुणस्तर तथा अनुगमन निर्देशिका एकसाथ पारित गरिएको छ ।’
नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छताको एकीकृत योजना निर्माणको काम थालनी गरेको छ । ‘नगरपालिकामा पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने कुनै बाह्य निकाय नभएको अवस्थामा हामीले विराट सामुदायिक अध्ययन केन्द्रसँग साझेदारी गरेर पूर्ण सरसफाइ अभियान सहजीकरण गरिरहेका छौं’, नगरपाालिकाको सामाजिक शाखा हेर्ने वरिष्ठ अधिकृत देवराज कार्की भन्छन्, “समुदाय सरसफाइ, संस्थागत सरसफाइ र वातावरणीय सरसफाइ तीनै पक्षलाई समान रुपमा जोड दिएका छौं ।’
यसअघि नै बिर्तामोड नगरपालिकामा सरसफाइ नमूना समुदाय निर्माणको काम थालनी भएपनि कोरोना कहरका कारण सफा र स्वच्छ समुदाय घोषणा हुन सकेका थिएनन् । ‘अहिले आषाढ मसान्तसम्ममा कम्तीमा पनि चारवटा समुदाय सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने र बाँकी दुई समुदायमा सफा र स्वच्छ क्षेत्रका ८० प्रतिशत सूचक पूरा गर्ने योजना अनुरुप सहजीकरण गरिरहेका छौं’, विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाइ कार्यक्रम अधिकृत अर्जुनकुमार पाठक भन्छन्, ‘यहाँ रहेका १८ वटामध्ये ९ वटा संस्थागत विद्यालयमा सरसफाइलाई संस्थागत गर्नका लागि सहजीकरण गर्छौं, बाँकी विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि सहजीकरण थालनी हुन्छ ।’
दिसाजन्य लेदो प्रशोधन र नदी सफाइ अभियान थालनी
बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाले संयुक्त रुपमा मेचीनगरमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरेका छन् । जुन सुचारु भैसकेको छ । नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन नियमावली नै बनाएर कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ ।
नगरपालिकाको बीच भाग हुँदै बग्ने अदुवा खोला सफाइको काम औपचारिक रुपमा थालनी भएको छ । ‘अहिले वडा नं. १ ले संयोजन गरेर अदुवा खोला हनुमन्ते खोला सफाइ भैरहेको छ’, नगर प्रमुख शिवाकोटी भन्छन्, ‘यसलाई क्रमशः बाँकी वडाहरुमा समेत विस्तार गर्ने योजना बनाइएको छ ।’
नगरपालिकाभित्रको ठोस फोहर संकलन र व्यवस्थापनका लागि निजी क्षेत्रबाट समेत प्रस्तावना आव्हान गरिएको छ । संस्थाहरु र निजी क्षेत्रसँगको साझेदारीमा दीर्घकालीन व्यवस्थापनका लागि यस अवधारणा अनुसार फोहर व्यवस्थापनको काम थालिएको समेत नगर प्रमुख शिवाकोटीले बताए । “कर्मचारीले मात्र सफा गरेर कहिल्यै पनि नगर सफा भैरहन सक्तैन । परिवार, संस्था र निजी क्षेत्रलाई यसमा प्रत्यक्ष रुपमा जोडेर संस्थागत स्वरुप दिनुपर्छ”, उनको भनाइ छ ।
बिर्तामोडलाई यसअघि नै प्रांगारिक नगरको रुपमा विकास गर्ने लक्ष्य लिएर नगरपालिकाले नारा नै तय गरिसकेको छ । ‘दिगो सरसफाइ व्यवस्थापन सहितको प्रांगारिक नगर बनाउने अभियानलाई हाम्रै कार्यकालमा सफल बनाउँछौं’, शिवाकोटीको प्रतिवद्धता छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्