बिर्तामोड , फागुन ४ । आगामी फागुन १६ गते हुन लागेको बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि भोलि दुईवटा प्यानलको घोषणा हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त व्यावसायिक प्यानलको घोषणा हुँदैछ भने नेपाली काँगे्रसले पनि आफू निकट व्यवसायीहरुको प्यानल पनि भोलि नै घोषणा गर्न लागेको छ । नेकपा र राप्रपाको संयुक्त प्यानलको घोषणा सभा भोलि दिउँसो २ बजे राखिएको छ । त्यस प्यानलको नेतृत्व सुवाष भट्टराईले गरेका छन् । भट्टराई अध्यक्ष रहेको प्यानलमा नेकपाका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायण चिमरिया , वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी ,महिला उपाध्यक्षमा उर्मिला खरेल , महासचिव अर्जुन मैनाली ,उद्योग सचिव धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेद्वारी रहने भएको छ । त्यस्तै सदस्यहरुमा विसन लिम्बू , गुन्जन प्रसाई , खगेन्द्र खरेल र भगिरथ लुइटेलले उम्मेद्वारी दिने निश्चित भएको अध्यक्षका प्रत्यासी भट्टराईले बताए । त्यस प्यानलमा उद्योग उपाध्यक्ष ,उद्योग सचिव , सहकोषाध्यक्ष , महिला सदस्य र दुई खुल्ला सदस्य राप्रपाले पाएको छ । जस अनुसार उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, उद्योग सचिवमा कृष्ण पौडेल , सहकोषाध्यक्षमा रन्जु पयाकुरेल , महिला सदस्यमा सोनी अग्रवाल , खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीको उम्मेद्वारी रहने तय भएको छ ।
उता प्रजातान्त्रिक विचार भएका काँग्रेस निकट व्यवसायीहरुको प्यानल पनि भोलि नै घोषणा हुने कार्यदलका संयोजक देउमान थेबेले बताए । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा उम्मेद्वार तय गर्न काँग्रेसले पूर्व जिल्ला उपसभापति थेवेको संयोजकत्वमा कार्यदल बनाएको थियो । आफूहरु सहमति नजिकनजिक पुगिसकेको उनले बताए । प्रजातान्त्रिक विचार भएका व्यवसायीका तर्फबाट चार जनाले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । हालका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी , उद्योग उपाध्यक्ष राजु न्यौपाने , जनसम्पर्क उपाध्यक्ष पार्वता विमली खरेल र महासचिव प्रशान्त भण्डारी गरी चार जनाले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनीहरुमध्ये एकजनालाई अध्यक्षमा उठाउनेगरी व्यवसायीहरुको प्यानल निर्माण गर्न लागेको थेबेले जानकारी दिए बाणिज्य संघको घोषित निर्वाचन कार्यक्रम अनुसार फागुन ६ गते उम्मेद्वारी दर्ता रहेको छ ।