शिबसताक्षी, फागुन ६ । तेस्रो शिवसताक्षी मेयरकप खेलकुद (मिनी म्याराथुन ) फागुन १७ गतेबाट सञ्चालन हुने भएको छ ।

प्रतियोगिताको बारेमा बिहीबार नगरपालिकाको कार्यालयमा नगर खेलकुद बिकास समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रतियोगितामा विभिन्न ८ बिधामा १७ वटा खेल सञ्चालन हुने बताइएको छ । जसअनुसार फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल ,ब्याडमिन्टन, कबडी, कराँते, एथलेटिक्सलगायतका खेलहरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहने छ । खेलमा फुटबल बिधाका बिजेताले ७५ हजार, भलिबलले ५० हजार, क्रिकेटले ५० हजार, कबडीले १५ हजार, ब्याडमिन्टन डबलले १० हजार र ब्याडमिन्टन सिङगलले ५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष फुर्वा तामाङले बताए ।

खेलहरु भलिबल, शिबसताक्षी ३ स्थित पाराबारीमा हुनेछ भने फुटबल दुधे रंगशालामा हुनेछ । त्यसैगरी क्रिकेट झिलझिलेमा, कराँते माइधारमा, कबडी माइधार, चेस दुधेमा र एथलेटिक्स ब्याङडाँडामा हुने नगर खेलकुद बिकास समितिका सदस्य सन्तोष पौडेलले जानकारी दिए ।
उक्त प्रतियोगिताको समापन फागुन २८ गते हुनेछ । शिवसताक्षी नगरपालिकाको प्रथम नगरसभाबाट नगरलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउने उद्देश्का साथ शिवसताक्षी मेयरकप सुचारु गर्ने निर्णय भएको हो ।
यसअघिको मेयरकपबाट नगरले बिभिन्न राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गरिसकेको छ । हालसम्म फुटबलतर्फ अन्डर १३ मा देब मल्लिक, अन्डर १४ निकेश श्रेष्ठ, अन्डर १८ मा संजित राई छनौट भइसकेका छन् । त्यसैगरी, प्रदेश स्तरिय खेलमा एथलेटिक्सबाट निशा माझी, भलिबलमा सुजन रिजाल, क्रिकेटमा सजन थपलिया छनौट भइसकेको नगर खेलकुद बिकास समितिले जनाएको छ ।
अर्थिक बर्ष ०७६–०७७ मा हुनुपर्ने तेश्रो मेयरकप कोभिड १९ को कारण हुन नसकेपछि आर्थिक वर्ष ०७७ –०७८ मा हुन लागेको हो । तेस्रो मेयरकप खेलकुद सञ्चालन गर्न नगर खेलकुद बिकास समितिमार्फत चालु आर्थिक बर्ष ०७७–०७८ का लागि १५ लाख रकम विनियोजन भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्