बिर्तामोड, फागुन७ । सामाजिक र अन्य गतिविधिमा नेपालमै अब्बल मानिएको झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड संक्रमण भएका र उपचार गराएका आफ्ना सदस्यलाई उपचार खर्चवापत ३२ लाख ७१ हजार १३६ रुपैयाँ वितरण गरेको छ ।

शुक्रबार झापाको सुरुङ्गामा एक भव्य कार्यक्रमको आयोजना गरी सहारा नेपाल साकोसले कोभिड सहायता कार्यक्रमअन्तर्गत सो रकम वितरण गरेको हो । नेपालकै ठूलो सो सहकारी संस्थाले कोरोना संक्रमित भई आइसोलेसनमा बसेका ९८ जना र कोभिड भएर अस्पतालमा उपचार गराएका १८ जनालाई सो रकम वितरण गरेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
कोरोना संक्रमित भई आइसोलेसन १४ दिनसम्म बसेकालाई दिनको पाँच सय रुपैयाँको दरले ९८ जनालाई ६ लाख ८६ हजार रुपैयाँ शुक्रबार वितरण गरिएको हो । कोरोना उपचारवापत २५ लाख ८५ हजार १३६ रुपैयाँ प्रदान गरिएको कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए । कोभिडका कारण सहाराका तीनजना शेयर सदस्य र एकजना कर्मचारीको निधन भएको थियो ।
संस्थाले लकडाउनको बेला पनि अतिविपन्न लघुवित्तमा आवद्ध सदस्यहरुलाई खाद्यान्नलगायतका आवश्यक वस्तु उपभोग गर्नेगरी ७ हजार ८१६ जनालाई २ करोड ६८ लाख २३ हजार रुपैयाँ सापटी उपलब्ध गराएको थियो । सहाराले गत आर्थिक वर्षमा सदस्य हितका लागि १० प्रतिशत ब्याज अर्थात ३ करोड ४५ लाख रुपैयाँ छुट प्रदान गरेको थियो ।

कोभिड महासंकटको बेला सहाराले सदस्य बाहिर रहेका समुदायमा पनि उल्लेखनीय सहयोग उपलब्ध गराएको थियो । प्रदेश सरकार, स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समन्वय समितिसँगको सहकार्यमा क्वारेन्टाइनमा बसेका जिल्लाका नागरिक, झापाको दमकमा रहेको भुटानी शरणार्थीका परिवार र प्रदेश १ का विभिन्न जिल्लामा रहेका विपन्न वर्गका परिवारमा निःशुल्क खाद्यान्न वितरण र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री गरी ५७ लाख ३५ हजार २५७ रुपैयाँ राहत प्याकेज उपलब्ध गराइएको गिरीले बताए ।
समुदाय स्तरबाट स्थापना गरिएको पिसिआर ल्याबका लागि सहयोग उपलब्ध गराउनुको साथै कोरोना कहरका कारण व्यापार व्यवसाय चल्न कठिन भएको अवस्थालाई मध्यनजर गरेर १० .९९ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराइएको थियो ।

सहायता वितरण कार्यक्रम कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उपप्रमुख प्रसाईं, कनकाई ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया, सुरङ्गाका युवा व्यवसायी लीलाप्रसाद चिमरिया, सुरुङ्गा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष भीम अधिकारी, कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ख्याम ओलीलगायतले सहारा साकोसले समुदायमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रमको सहजीकरण शुक्र तामाङले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्