माङसेबुङ, फागुन ८ । इलामको माङसेबुङ ६ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी वडा सदस्य रामचन्द्र राईले पाएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११६ बमोजिम राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाएका हुन् । तत्कालिन नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रदिप साङपाङ नेकपा एमालेमा प्रवेश गरेपछि उनको वडाध्यक्ष पद खारेज भई रिक्त भएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११६ मा वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा वडा समितिका सदस्यहरूले आफूहरूमध्येबाट छनौट गरेको सदस्यले कार्यवाहक वडाध्यक्ष भई काम गर्ने व्यवस्था छ । कार्यवाहक वडाध्यक्ष राईले अब वडाध्यक्षकै हैसियतमा गाउँ कार्यपालिका बैठकमा सहभागी भई कार्य सम्पादन गर्नेछन् ।
यसअघि वडाध्यक्ष साङपाङले आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले प्रवेश गरेपछि निर्वाचन आयोगले पद रिक्त रहेको सूचना प्रकाशित गरेको थियो ।

आयोगको गत माघ ७ गतेको बैठकको निर्णयअनुसार भन्दै ९ माघमा गोरखापत्रमा ‘दल त्याग तथा रिक्त सम्बन्धी सूचना प्रकाशित गरी सोही दिनदेखि साङपाङ निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा २२ बमोजिम दल त्याग गरेको व्यहोरा नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयसहित आयोगलाई जानकारी आएकाले साङपाङको पद रिक्त भएको सूचनामा उल्लेख थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा साङपाङ तत्कालिन नेपाली कांग्रेसबाट अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी भएका थिए । साङपाङले पूर्व बाँझो गाउँ विकास समितिका अध्यक्ष रहेका तत्कालीन नेकपा एमालेका उम्मेद्वार किरण राईलाई पराजित गर्दै वडाध्यक्षमा विजयी बनेका थिए । वडाका ४ जना सदस्य नेकपा एमालेबाट निर्वाचित हुँदा उनी एक्लै कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । तर साङपाङ २१ चैत २०७४ मा एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्