बिर्तामोड , चैत १३ । बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानअन्तर्गत नगरभित्रका विद्यालयका फोकल पर्सनहरुलाई एकदिने प्रशिक्षण दिइएको छ ।

बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको आयोजना तथा बिर्तामोड नगरपालिकाको समन्वयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नगरका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका शिक्षक प्रतिनिधि ‘फोकल पर्सन’हरुको सहभागिता रहेको थियो ।
प्रदेश १ कै पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाका बाल क्लब फोकल पर्सन दिपक पाण्डेले प्रशिक्षण दिएको कार्यक्रममा प्रशिक्षार्थीहरुले विद्यालयमा बाल क्लब गठन गरिएता पनि प्रकृयाको बिषयमा अन्योल रहेको बताएका थिए । सोही क्रममा प्रशिक्षण दिँदै प्रशिक्षक पाण्डेले बालमैत्री विद्यालय हुनलाई चाहिने सुचक र आवश्यक प्रक्रियाका बारेमा प्रष्ट पारेका थिए ।
प्रशिक्षण कार्यक्रमले बाल क्लब गठन र यस्का कार्यविधिको बिषयमा प्रष्ट भएको बताउँदै फोकल पर्सनहरुले नगरको बिधानअनुसार अघि बढ्न प्रेरित भएको जनाएका छन् । बालबालिका तथा शिक्षा संचार मंचसँग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रशिक्षार्थीहरुले बालबालिकाको क्षेत्रमा कटिबद्ध भएर काम गर्ने बताएका छन् ।
बालबालिका तथा शिक्षा संचार मंच नेपालका संयोजक सरोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य प्रकाश पौडेलको स्वागत गरेका थिए भने संचालन सुष्मा त्रिखत्रीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्