बिर्तामोड , चैत १८ । भारतबाट फर्किएकी बिर्तामोडकी एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. १ की मारवाडी समुदायकी ३१ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी चार दिनअघि भारतबाट घर फर्केकी थिइन् । मंगलबार गरिएको पिसिआर परीक्षणमा ती महिलालाई संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । दोस्रो चरणमा बिर्तामोडमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि पहिलो चरणमा बिर्तामोडमा ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको ज्यान गएको थियो । पछिल्लो समय कोरोना संक्रमण छिमेकी राष्ट्र भारतमा बढेकोले सीमा नाकाहरूमा कडाइ र सतर्कता नअपनाइएको कारण झापामा पनि कोरोना संक्रमितहरूको सँख्या बढ्न थालेको छ । गत साता भारतबाट फर्किएकी कनकाई नगरपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया पुलनादेवी मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो । १० दिनअघि मात्र ती महिला भारतमा रहेकी छोरीको घर गएकी थिइन् ।
बुधबारे हटिया लागेन
साप्ताहिक रुपमा लाग्ने बुधबारे हटिया आज लाग्न सकेन । दोस्रो चरणमा कोरोना संक्रमण फैलिदै गएपछि त्यसबाट जोगिनका लागि बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र लाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गरेको छ । त्यही कारण बुधबारे हटिया लाग्न नसकेको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलले बताए । उनले सूचनाको अभावमा केही व्यापारी र ग्राहकहरु आएपनि बजार खासै नलागेको जानकारी दिए । साप्ताहिक रुपमा लाग्ने बुधबारे हटियामा करिव दुई सयको हाराहारीमा अस्थायी व्यापारीहरु आउने गरेका छन् ।सीमामा कडाई गर्न थालेपछि भारतका व्यापारीहरु नआएको अध्यक्ष पौडेलले बताए । उनले जानकारीको अभावमा केही व्यापारी आएपनि अर्को सातादेखि हटियामा कसैलाई पनि बस्न नदिने बताए ।
बिर्तामोड नगरपालिकाले बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको हो । मंगलबार बसेको नगरस्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाका फोकल पर्सन खड्काले बताए । बिर्तामोड क्षेत्रभित्र बुधबारे हटिया, बिर्ताबजार , गरामनी , सैंनिकबजार,चारपाने , चैतुबारीलगायतका स्थानमा हाटबजार लाग्ने गरेको छ । ती सबै हाटबजार लाग्न नदिने निर्णय गरिएको खड्काले बताए । त्यसैगरी नगरभित्र २५ जनाभन्दा बढी मानिसको भीड हुन नदिने बैठकले निर्णय गरेको छ । २५ जनाभन्दा बढी भीडभाड हुने खालका कार्यक्रम , बैठक , सेमिनार , गोष्ठीजस्ता कार्यक्रम गर्न नदिने निर्णयसमेत भएको फोकल पर्सन खड्काले जानकारी दिए । बिर्तामोड नगरपालिकाले कोरोना संक्रमणप्रति सजग र सतर्क रहन मंगलबारदेखि माइकिङ गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्