शिवसताक्षी ,चैत २७ । झापा शिवसताक्षी ८ का एक क्यान्सरपीडितलाई आर्थिक सहयोग गरिएको छ ।

शिवसताक्षी ८ श्रीजंघा चोकका ४३ वर्षिय राजकुमार घिमिरे (विश्वकर्मा)लाई स्थानीय युवाहरुले संकलन गरेको ६६ हजार ८ सय ७७ रुपैयाँ हस्तान्तरण गरिएको हो । स्थानीय दिपेन्द्र प्रधानको संयोजकत्वमा एक महिनाअघि राजकुमार बचाऊ अभियान समिति गठन गरी राजकुमारको उपचारमा सहयोग पुर्याउन रकम संकलन गरिएको अभियानका सहसंयोजक सन्त फेउदेनले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका घिमिरे परिवारलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्धेश्यले आर्थिक संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था नाजुक भएका घिमिरेको बुबा आमा, श्रीमती र ३ छोराछोरी रहेका छन्

।परिवारको जिम्मेवारी सम्हाल्दै आएका राजकुमार थलिएर उपचार गराउनु परेपछि परिवारको बिचल्ली भएको छ ।उनैले मजदुरी गरी कमाएको आम्दानीले घरको गुजारा चलाउँदै आएकोमा उनी नै थलिएपछि आफूहरु समस्यामा परेको राजकुमारकी श्रीमतीले बिलौना गरिन् । ‘घरमा वृद्ध सासूससुरा र बालखा छोराछोरी मात्र छन् कमाउने उहाँ एक्लो हुनुहुन्थ्यो तर उहाँ नै थलिएपछि उपचार गराउन समस्या भएको छ’उनले दुखेसो पोखिन् । दुखको बेला स्थानीयहरुले सहयोग गरेपछि हर्षित हुँदै सबैलाई धन्यवाद दिइन् ।अहिले भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका आफ्ना श्रीमानलाई अन्य सहयोगी मनहरुले पनि सकेको सहयोग गरी बचाईदिन उनले आग्रह गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्