इटहरी , बैशाख ८ । थारु समुदायले इष्ट देवताको रूपमा पुजा गर्ने ग्रामथानहरू पछिल्लो समय मासिन थालेका छन् ।

विकास निर्माणको नाममा ग्रामथानहरू मासिन थालेका हुन् ।

थारुहरूको बाहुल्य रहेको मोरङ र सुनसरीमा पछिल्लो समय थारु पहिचानमाथि आक्रमण नै सुरु भएको छ । थारु समुदायको पहिचानको रूपमा लिइने पोखरी, ग्रामथान, इनारजस्ता सांस्कृतिक धरोहरहरू मासिन थालेका हुन् ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुरु भएको भौतिक विकासको लहरले धेरै ग्रामथान र पोखरी लोप हुने क्रम सुरु भएको हो । भौतिक विकासको नाममा मन्दिर तथा भवन बनाउँदा ग्रामथान हराएको थारुहरूको गुनासो छ ।

ग्रामथान संरक्षण समिति नै बनाएर सुनसरीमा अभियान चलाइएको छ । तेजनारायण चौधरीको संयोजकत्वमा रहेको समितिले ग्रामथान खोज्ने र त्यसको संरक्षणमा स्थानीयलाई प्रशिक्षित गराउने काम सुरु गरेको छ ।

थारुहरूले सबै देवता एक ठाउँमा राखेर पूजा गर्ने स्थानलाई ग्रामथान भन्ने गरिएको चौधरीको भनाइ छ । उनका अनुसार थारु समुदायभित्र पर्ने राजधानी, खवास, चौधरी (मोरङगीया र सप्तरीया ) हरू विशेष गरी ग्रामथानमा पूजा गर्ने गर्छन् ।

चौधरीहरूको जीवनयापन तथा कलासँग जोडिएको पोखरी तथा इनारहरू पनि त्यसैगरी समाप्त हुँदै गएका छन् । बढ्दो सहरीकरण र अव्यवस्थित बसोबासको कारण पोखरीहरू मासिएका हुन् ।

पोखरी पुरेर प्लटिङ गर्ने क्रम बढ्दै गएकाले पछिल्लो ५ वर्षमा सुनसरीमा मात्र ५ सय पोखरी मासिएको संयोजक चौधरीको बुझाई छ । इटहरीमा रहेका २ सय ग्रामथानमा अहिले ५० वटा मात्र संरक्षणमा रहेको उनले बताए ।

भूमाफियाको चपेटामा परेर भत्किएका ग्रामथानको संरक्षणमा स्थानीय सरकारले चासो नदिएको थारु संस्कृति बचाउ अभियानका अभियन्ता पदम अधिकारी बताउँछन् । विकासको नाममा संस्कृतिमाथि अतिक्रमण बढेको उनले बताए ।
सोही बमोजिम कचना ग्रामथानलाई कचना महादेव मन्दिर बनाउनेदेखि बिक्षुधामी ग्रामथानलाई शिव नारायण मन्दिर बनाइएको छ । इटहरी ५ मा रहेको ग्रामथान मासेर सत्सङ्ग मन्दिर स्थापना गरिएको छ ।

विभिन्न बहानामा थारु संस्कृतिमाथि अतिक्रमण बढ्दै गएको अधिकारीले प्रस्ट पारे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा संस्कृति स्थलहरूको संरक्षण गर्ने भनी प्रष्ट व्यवस्था भए पनि जनप्रतिनिधिहरुले ग्रामथान संरक्षणका लागि कुनै पहल नगरेको उनको गुनासो छ ।

थारु समुदायको बाहुल्य रहेको सुनसरीको इटहरी, दुहबी, झुम्काको प्रमुखहरू सोही समुदायबाट निर्वाचित भए पनि अहिलेसम्म थारु संस्कृति संरक्षणमा कुनै पहल भएको देखिँदैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्