भद्रपुर , बैशाख ८ । झापाको सदरमुकाम रहेको जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिकाभित्र सार्वजनिक शौचालय बन्ने भएको छ ।

रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अष्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा ट्रेडयुनियन चोक चन्द्रगढीमा निर्माण गरिन लागिएको शौचालयको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बुधवार शिलान्यास गरे । १५ लाख रुपैयाँको लागतमा अबको २ महिनाभित्र शौचालय निर्माण सम्पन्न गरिसक्ने योजना छ । शिलान्यास गर्दै नगर प्रमुख श्रेष्ठले शौचालय निर्माणले जिल्लाभित्रबाट सरकारी सेवा लिन आउने आमनागरिकलाई सेवा पुग्ने बताउँदै शौचालय निर्माण कार्यका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष आदित्य पराजुलीले समाजसेवा क्लवको मुल दायित्व भएको उल्लेख गर्दै शौचालय निर्माण कार्य अवको २ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
उनले ६ वटा वाथरुम र ४ वटा युरिनसहितको महिला तथा पुरुषको छुट्टाछुटै शौचालय निर्माण गरिने बताउँदै क्लबले निकट भविष्यमा भद्रपुर ८ स्थित सगरमाथा चोकमा क्लक टावर निर्माण गर्ने योेजना रहेको जानकारी दिए । शौचालय निर्माणपश्चात सदरमुकाममा सेवा लिन आउने आमनागरिकलाई सहज हुने उनको धारणा छ ।

पराजुलीको अध्यक्षता तथा सचिव ईश्वर अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागतसहित औचित्यमाथि उद्योग वाणिज्य संघ प्रदेश न १ का अध्यक्ष तथा रोटरी क्लव भद्रपुरका पूर्व अध्यक्ष रोटरीयन टिकाराज ढकालले प्रकाश पारेका थिए ।
कार्यक्रममा झापाली समाज अष्ट्रेलियाकी महिला कोअर्डिनेटर सोनु पुडासैनी , भद्रपुर ८ का वडा अध्यक्ष गौरब सुब्बा मनोजलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष काजी खडका, ५ का अध्यक्ष वन्धु कार्की, उद्योगी चण्डी पराजुली, नगरपालिकाका इन्जिनियर योगेन्द्र रन्जितकार,झापाली समाज अष्ट्रेलियाका सदस्य कर्ण राजवंशीलगायत रोटरीयन र रोट¥याकहरुको उल्लेख्य उपस्थिति रहेको विगत ओझाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्