झापा , बैशाख १२ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि झापा प्रशासनले जिल्लाका सीमा नाकामा आवतजावतमा कडाइ गरेको छ ।

बढ्दो जोखिमको अवस्थालाई ध्यानमा राखेर सीमा नाकामा सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले संक्रमणको जोखिम बढ्दै गएकाले सीमावर्ती आवतजावतमा शनिबारदेखि थप कडाई गरिएको बताए । सीमावर्ती क्षेत्रमा स्थानीय प्रशासनले भारतीय नागरिकको आगमनमा थप कडाइ गरेको हो । झापाको काँकडभिट्टा, भद्रपुर, केचना, गौरीगञ्जलगायतका सीमावर्ती नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ ।
त्यस्तै भारतका विभिन्न शहरमा कोरोना संक्रमण पुनः तीब्ररुपमा फैलिरहेका बेला नेपालतर्फ संक्रमण फैलन नदिन पूर्वीद्वार काँकरभिट्टा नाकामा आवतजावतमा कडाई गरिएको छ । आइतबार सम्पन्न मेचीनगर नगरपालिकाको कोभिड १९ रोकथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । भारतसँग सीमा जोडिएको मेचीनगर नगरपालिकाले नेपालतर्फ पुनः यसको संक्रमण नफैलियोस् भन्ने उद्घेश्यले पूर्वी नाकामा उच्च सतर्कता अपनाउँदै आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो। बैठकले नगरका १५ वटै वडामा वडास्तरीय कोभिड १९ रोकथाम नियन्त्रण व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख तथा समितिका संयोजक विमल आचार्यको सभापतित्वमा सम्पन्न बैठकले सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा मापदण्ड कायम गर्ने र यसका लागि यातायातसम्बद्घ संघसंस्था र व्यवसायीहरुसँग समन्वय र सहकार्य गरी सवारी साधनमा सवार गर्ने यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न लगाउने निर्णय गरेको छ । विभिन्न धार्मिकस्थलहरुमा अनावश्यक भीडभाड नगर्ने र यसरी हुने भीडभाडलाई नियन्त्रण गर्न थप सुरक्षा अपनाउने र विभिन्न चेतनामुलक सूचना सम्प्रेषण गर्ने,, नगरभित्र साप्ताहिकरुपमा लाग्ने हाट बजार र नगरका मुख्यः व्यापारिक केन्द्र मानिएका बजारहरुलाई व्यवस्थापन गर्नका लागि उद्योग बाणिज्य संघसहित अन्य व्यापारिक प्रतिष्ठानहरुसँग सहकार्य र समन्वय गर्ने, अत्यावश्यक कामबाहेक भारततर्फ जान नदिने निर्णय गदैं सर्वसाधारणलाई अनावश्यकरुपमा भारतीय बजार नजान अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
सार्वजनिक सभा समारोह ,धार्मिक कार्यलगायत मृत्यु संस्कारमा समेत अनावश्यक भीडभाड नगर्ने तथा नगराउने, थर्मल गनबाट तापक्रम मापन गर्ने, कुनै गम्भीर प्रकारको रोगका लागि नेपालमा नपाईने औषधि खरिदका लागि उद्योग बाणिज्य संघलगायत अत्यावश्यक सहयोगका लागि नेपाल रेडक्रसलाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ । विकास निर्माणका कामदेखि हरेक कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने, विद्यालयहरुले परीक्षा लिँदा अनिवार्यरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने, अनुगमनका क्रममा यस्तो नपाईए अनुगमन टोलीले तत्काल बन्द गराउन सक्ने र परीक्षा अवधिमा विषम परिस्थिति भए तत्काल परीक्षा बन्द गर्नुपर्ने निर्णय समेत बैठकले गरेको छ ।बजार अनुगमनलाई प्रभावकारी बनाउने, शववाहन र अक्सिजनको व्यवस्थापन, थप एम्बुलेन्स सेवा, वडानम्बर ११ मा रहेको स्वास्थ्य केन्द्रलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्ने, नगरभित्रका हरेक टोल विकास संस्थाहरुलाई क्रियाशील बनाउने र सहजीकरण गर्ने, मास्क, सेनिटाइजर, ग्लोब्ससहित स्वास्थ्य सामग्रीलाई पर्याप्त रुपमा जोहो गर्न नगरपालिका तदारुकताका साथ लाग्ने समेत बताइएको छ ।
सीमा नाकामा सञ्चालनमा ल्याएको हेल्पडेक्सलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने, साविक सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउनेलगायतका निर्णय नगरपालिकाले यसअघि नै गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
बैैठकमा उपप्रमुख मीना पोखरेल उप्रेती, समितिका सदस्यहरु तथा नवीन वराल, कृष्ण कनाल, टीकाराम मग्रान्ती, मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिंह दाहाल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, सशस्त्र प्रहरी बल नेपाल वीओपी प्रमुख तथा प्रतिनिधि,सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।यसैबीच काँकडभिट्टा नाका हुँदै नेपाल फर्किनेहरुको सँख्या बढ्दै गएको छ । काँकडभिट्टास्थित होल्डिङ सेन्टरमा त्यसको चाप अत्यधिक बढेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।