कुमरखोद ,बैशाख १३ । ईलाका प्रहरी कार्यालय कुमरखोदले भारतवाट अवैध रुपमा लुकाईछिपाई ल्याएको सय केजी माछा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले हिजो झापा गाउँपालिका वडा २ को सुगावथान गाउँवाट अवैध रुपमा भारतबाट लुकाईछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा सय केजी माछा फेला पारेको थियो । प्रहरीको टोली देखेपछि माछा बोक्ने केरियरहरु माछा छोडेर भागेका थिए । प्रहरीले उक्त माछाको पोकाहरुलाई बरामद गरी ईलाका प्रहरी कार्यालय कुमरखोद ल्याएका थिए । मुंगी र पम्पलेट जातका माछाहरु रहेको कुमरखोद ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गजेन्द्र रायमाझीले बताए । ती माछाहरुलाई स्थानीय र पत्रकारको रोहवरमा खाल्डोमा पुरी नष्ट गरिएको थियो ।