झापा , बैशाख १३ । झापामा कोरोना संक्रमितको सँख्या दोब्बर बृद्धि भएको छ ।
आइतबार जिल्लाका १८ जना संक्रमित भएकोमा त्यसको भोलिपल्ट सोमबार संक्रमितको सँख्या त्यसको दोब्बर बढी ३८ पुगेको छ । कोरोनाको पहिलो लहरमा हटस्पट बनेको दमकमा दोस्रो लहरमा पनि सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दमकमा ७ महिला र ८ पुरुष गरी १५ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोडमा दुई महिला , दुई पुरुष , मेचीनगरमा एक महिला , तीन पुरुष , भद्रपुरमा दुई पुरुष , कनकाईमा तीन पुरुष , अर्जुनधारामा एक महिला , दुई पुरुष , गौरीगञ्जमा तीन महिला , तीन पुरुष र शिवसताक्षीमा एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या ४ हजार ८१९ पुगेको छ । त्यसमध्ये ४ हजार ५१९ डिस्चार्ज भएका छन् । अहिले १६९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट १३१ जनाको मृत्यु भएको छ ।




