बिर्तामोड , बैशाख २७ । बिर्तामोड ९ की अनिता चौधरीले टेलिभिजन हेर्न नपाएको चार दिन भइसक्यो । किनकि विगत चार दिनदेखि उनको टोलभरि नै केवलको लाइन छैन ।

उनीसहित धेरैजनाले स्पेसलिंक केबलको कार्यालयमा समस्या भनिसकेका छन् । तर,केबल व्यवसायीले वास्ता गरेको छैन । आफूले पटकपटक फोन गर्दा पनि केबलवालाले वास्ता नगरेको उनले बताइन् । ‘एक त फोन लाग्दैन फोन लागेपनि टार्ने मात्र काम हुन्छ’ उनले भनिन् ,‘केबलको सेवा चित्तबुझ्दो लागेन ।’ स्पेशलिंक केबलको डोइन टिभी पटकपटक बिग्रिरहन्छ । एकपटक बिग्रियो भने करिब एक सातासम्म टिभी हेर्न नपाइने बिर्तामोड ९ कै सकुन राजवंशीले समस्या राखिन् ।‘अफिसमा फोन गर्यो कम्प्लेन टिपाउनु भन्छन् ’उनले भनिन् ,‘ त्यो कम्प्लेन कहिले सुनुवाई हुन्छ थाहा छैन ।’

उनले वर्षमा ३ हजार रुपैयाँ केबललाई तिर्ने गरेकी छन् । ‘महिनामा आधा दिन मात्र टिभी हेर्न पाइन्छ ’उनले भनिन् ,‘पैसा लिने बेलामा भने एकएक दिनको लिन्छन् ,एक पैसा छुट गर्दैनन् ।’
बिर्तामोड क्षेत्रका धेरै ग्राहकले स्पेशलिंकको डोइन टिभी जडान गरेका छन् । तर , त्यस केबलको सेवाप्रति धेरैको असन्तुष्टि बढ्दै गएको छ ।

आफू पनि स्पेशलिंक केबलको डोइन टिभीबाट दिक्क भइसकेको पत्रकार इन्द्रजीत मुखियाको भनाइ छ । देशको महत्वपूर्ण घटनाबारे थाहा पाउन टिभी खोल्यो एउटै पनि च्यानल नआएको उनको भनाई छ । स्पेशलिंक केबलको डोइन टिभीले ग्राहकबाट अग्रिम शुल्क लिएर भनेजस्तो सेवा नदिई ठगी गरिरहेको उनको बुझाइ छ । ‘समस्याका बारेमा पटकपटक भनिसकेँ ’ उनले भने ,‘ अहिले त फोन पनि उठ्दैन ।’ उनी केबलको कार्यालय नजिकै बस्छन् । ‘ म नजिकै बस्छु पत्रकार हुँ मलाई यस्तो समस्या छ ’उनले भने ,‘झन् अरुलाई कति गाह्रो होला ।’ त्यस्तै अर्का पत्रकार सुरेन्द्र भण्डारीले आफ्नो टिभीमा एक महिनादेखि केबल नआएको बताए । केबलको सेवामा आएको समस्याबारे बुझ्न त्यसका संचालक मनोज उप्रेतीलाई ९८०१४००१५० मा फोन गर्दा उनको फोन उठेन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्