झापा , जेठ ७ । चारआलीस्थित नयाँ श्रीनाथ गणका सेनालाई कोरोना संक्रमितको शव व्यवस्थापन गर्न चुनौती थपिएको छ ।

दिनप्रतिदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको शव व्यवस्थापन गर्नका लागि सेनालाई जनशक्तिको अभाव भएको हो । जिल्लामा कोरोना संक्रमितको बढ्दो मृत्युसँगै जिल्लाभित्र मृत्यु भएका बाहिरका संक्रमितहरुको शवसमेत व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी नयाँ श्रीनाथ गणको रहेको छ । संक्रमितहरुको शव व्यवस्थापनका लागि गणले ६ वटा टीम खडा गरेको छ । त्यसमध्ये एकपटक तीन वटा टीम मात्र परिचालन गर्ने गरिएको छ । शव व्यवस्थापन गरिसकेपछि केही दिनका लागि बाँकी तीनवटा सैनिक टीमलाई क्वारेन्टाइनमा राख्ने गरिन्छ । दिनमा ११–१२ जनासम्म संक्रमितको शव व्यवस्थापन गर्नुपर्दा समस्या भइरहेको गणपति अमरजंग थापाले बताए ।‘ हामीले एकपटक तीनवटा टीम परिचालन गरिरहेका छौं’ उनले भने , ‘एकैदिन र एकै समयमा धेरैजनाको मृत्यु भएपछि शव व्यवस्थापन गर्न समस्या हुन्छ ।’ जनशक्ति अभावकै कारण समयमा शव व्यवस्थापन गर्न सेना पुग्न सकेको छैन । ‘ थोरै जनशक्ति भएकाले बोलाउने बित्तिकै हामी पुग्न सकेका छेनौं’गणपति थापाले भने,‘ गुनासो नगरी त्यसलाई उहाँहरुले बुझिदिनु पर्छ ।’ जनशक्ति अभावका कारण जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको उनले बताए । संक्रमितहरुको शव व्यवस्थापनमा सहयोग गर्न गणले ४ जनाको कोभिड डेस्क स्थापना गरेको छ । त्यस्तै जिल्लाका १५ वटा पालिकामा सूचना संकलनका लागि एक–एकवटा टीम परिचालन गरिएको गणपति थापाले बताए ।

थप जनशक्ति तयार गरिदैँ
मृतकहरुको सँख्या बढ्दै गई शव व्यवस्थापनमा समस्या भएपछि गणले थप जनशक्ति निर्माण गर्दैछ । कोरोना संक्रमितको शव व्यवस्थापनकै लागि गणभित्र ३० जनालाई तालिम दिइरहेको गणपति थापाले जानकारी दिए ।‘ जोसुकैले शव व्यवस्थापन गर्न गाह्रो हुन्छ ’उनले भने ,‘त्यसका लागि मेडिकल सम्बन्धी तालिम लिएको जनशक्ति चाहिन्छ ।’ नेपाली सेनासँगै नेपाल स्काउटले पनि शव व्यवस्थापनको तालिम संचालन गरिरहेको बताइएको छ । नेपालमा पहिलो पटक भक्तपुरमा कोरोना संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न समस्या हुँदा कुशल रुपमा नेपाली सेनाले व्यवस्थापन गरेको थियो । त्यसपछि शव व्यवस्थापनको जिम्मा सेनालाई दिइएको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार झापामा कोरोना संक्रमणबाट अहिलेसम्म १८२ जनाको मृत्यु भएको छ । त्यसमध्ये १५२ जनाको शव सेनाले व्यवस्थापन गरेको छ । त्यस्तै जिल्ला बाहिरका ५ वटा शवको पनि व्यवस्थापन गरिएको गणले जनाएको छ ।
जिल्लामा पहिलो पटक गत भदौ १२ मा कमलका कोरोना संक्रमितको मृत्यु भएको थियो । उनको रतुवा माई वृक्षरोपण आयोजनामा सेनाले गाडेर अन्त्येष्टि गरेको थियो । जिल्लाको पहिलो कोरोना संक्रमित दमकमा गत बैशाख ११ मा देखा परेका थिए ।
प्रक्रियाबमोजिम शव व्यवस्थापन
शुरुमा खबर गर्नेबित्तिकै जाने गरेको नेपाली सेनाले अहिले प्रक्रिया पु¥याएर मात्र शव व्यवस्थापन गर्ने गरेको छ ।अस्पतालको डेथ सर्टिफिकेट, मृतक परिवारको मन्जुरीनामा , सम्बन्धित पालिकाको सिफारिस,सरसफाईको रिपोर्टजस्ता डकुमेन्ट पूरा गरेर मात्र व्यवस्थापन गर्ने गरिएको गणपति थापाले बताए । त्यस्तै शव व्यवस्थापनका लागि चाहिने स्वास्थ्य सामग्रीकोे समस्या हुने गरेको उनले सुनाए । शव व्यवस्थापनको लागि गणले भर्खरै गाडीको व्यवस्था गरेको छ । यसअघि सेनाको टोली लिनका लागि सम्बन्धित पालिकाले गाडी पठाउनु पर्ने अबस्था थियो । कोरोनाको महामारीमा अत्यासलाग्दो रुपमा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन गर्नुपर्दा शारीरिक र मानसिक रुपमा थकान भएपनि सेनाले विपद व्यवस्थापनमा अवसरको रुपमा लिएको गणपति थापाको भनाई छ ।उनले कोरोना संक्रमणबाट मृत्यु हुने संक्रमितहरुको सम्मानजनक रुपमा अन्त्येष्टि गर्नका लागि आफूहरु प्रतिबद्ध रहेकोसमेत बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्