भद्रपुर, जेठ १३ । केही दिनयता किट अभावले कोरोना परीक्षण रोकिएको भद्रपुरस्थित कोरोना परीक्षण प्रयोगशालालाई ४ सय थान किट निशुल्क सहयोग गरिएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत भद्रपुर १० स्थित विभूति विद्या मन्दिरका पूर्वविद्यार्थी (एस एल सी समूह २०६३) ले रोग परीक्षण नरोकिने वातावरण निर्माण गर्न चार सय थान किट निशुल्क सहयोग गरेको हो ।
सरकारी दररेट अनुसार प्रतिकिट सात सय रुपैयाँ पर्ने देखिए पनि पूर्वविद्यार्थी समूहले प्रतिकिट ४५० मा खरिद गरी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो ।
सो समूहका तर्फबाट शेखर बुढाथोकी (विशाल), प्रमेश न्यौपाने र सौरभ घिमिरेले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्वर ठाकुरलाई हस्तान्तरण गरेका थिए ।
अस्पताललाई किट दिन पहलमा जुटेका शेखर बुढाथोकीले मेची अस्पतालमा कोरोना परीक्षण रोकिने वातावरण बन्न नहुने ठानेर मानव सेवाका लागि पहिलो चरणमा चार सय थान किट दिएको जानकारी दिए ।